बन्चरेडाँडामा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग बनाउन पौने १२ करोड निकासा

1260 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,– धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरेडाँडालाई ल्याण्डफिल्ड साईड बनाउन त्यहाँ सम्म् पुग्ने पहुंच मार्ग निर्माणका लागि सरकारले वजेटको व्यवस्था गरेको छ । सरकारले बन्चरे डाँडा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग निर्माण गर्न ११ करोड ७९ लाख रुपैयाँ रकमान्तर गरेको छ । कहिले स्थानीयका कारण त कहिले अन्य कारणले चर्चामा आउने गरेको ल्यान्डफिल्ड साइटसम्मको पहुँचमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले भैपरी आउने विकास कार्यक्रम शीर्षकबाट सो रकम निकासा गरेको हो ।
काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गर्न २०६२ सालमा सिसडोल ल्यान्डफिल साइट २ वर्षको क्षमता रहने गरी सञ्चालनमा ल्याइएको थियो । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्यान्डफिल्डमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन १३ वर्षसम्म गरिएको छ । अहिले सो ल्यान्डफिल्ड साईड भरिएको छ । साईडको कारण उत्पन्न बाताबरणिय प्रदुषण र अन्य समस्याको समाधानका लागि स्थानीयले सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएका छन् ।

फोहोर व्यवस्थापनका लागि सरकारले सिसडोलभन्दा करिब २ किलोमिटर पर रहेको बन्चरे डाँडोलाई फोहर व्यवस्थापनको दीर्घकालीन ल्यान्डफिल बनाउने योजना ल्याएपछि त्यसको पहुँचमार्ग निर्माणको लागि सो रकम निकासा भएको हो । चैत्र महिनामा सरकारले बजेट निकासा गरेसँगै अहिले सिसडोलदेखि बन्चरेडाँडासम्म जाने बाटो निर्माण गर्ने काम भइरहेको छ । आगामी दुई महिनाभित्र सडक निर्माणको काम सम्पन्न गरी फोहोर व्यवस्थापन स्थल निर्माणको काम गर्ने योजना महानगरपालिकाको छ ।

यो ल्याण्डफिल्ड साईडको क्षमता ६।५ लाख मेट्रिक टन थियो । काठमाडौं र ललितपुरबाट मात्रै दैनिक करिब एक हजार देखि एक हजार एक सय टन फोहोर उत्पादन हूने गरेको छ । सोमध्ये ७० देखि ७५ प्रतिशत फोहर सिसडोलमै व्यवस्थापन हुँदै आएको छ । गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बन्चरेडाँडामा निर्माण गर्नुपर्ने करिब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्यान्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । हाल काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । बन्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्यान्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने प्राविधिकहरू बताउँछन् ।