नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी एकता घोषणा केहीबेरमा हुंदै

1960 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– नेपालमा कम्युनिष्ट आन्दोलनका लागि आज ऐतिहासिक दिन । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज  ७० वर्ष पूरा भएको छ । विभिन्न कम्युनिष्ट पार्टीहरुले आज छुट्टाछुट्टै कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाईरहेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने आज ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नाम घोषणा गरेर मनाउँदै छ । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले झण्डै एक बर्ष पछि ७७ वटै जिल्ला नेतृत्वको घोषणा गर्दै छ । नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा नेकपाले सोमबार दिउँसो राजधानीमा हुने कार्यक्रममा जिल्ला नेतृत्वको घोषणा गर्न लागेको हो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भएको ११ महिनापछि नेकपाले आइतवार ७७ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको थियो । नेकपाको आइतवार बसेको सचिवालय बैठकले जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।
७७ जिल्लमध्ये पूर्व एमालेले ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व गर्नेछन् । पूर्व एमालेको भागमा अध्यक्ष परे सचिव पूर्वमाओवादीको तर्फबाट हुनेछ । त्यस्तै पूर्वमाओवादीको भागमा अध्यक्ष परेको जिल्लामा सचिव पूर्व एमालेको तर्फबाट हुने सहमति नेताहरुबीच भएको छ । जस अनुसार धादिङमा अध्यक्षमा नेकपा एमालेका तत्कालिन कार्यवाहक अध्यक्ष भूमी त्रिपाठी र सचिवमा माओवादी केन्द्रका सचिव शालिकराम जमकट्टेलको नाम चर्चामा रहेको छ । जिल्ला नेतृत्वमा कसको वर्चस्व रहने भन्ने विवादमा अल्झिरहेका नेकपाका शीर्ष नेताहरुबीच विगतको नेतृत्वलाई प्राथमिकता दिने सैद्धान्तिक सहमति भएपछि विवाद टुंगिएको हो । यो सहमतिले सांसद, मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत पदमा रहेका पनि अध्यक्ष, सचिवलगायत नेतृत्वदायी पदमा रहने छन् । यसअघि पार्टीको केन्द्रीय सचिवालयले सांसद, मन्त्री, स्थानीय तहको प्रमुख, उपप्रमुखलगायत अन्य जिम्मेवारीमा रहेका व्यक्तिलाई जिल्लाको नेतृत्व नदिने गरी सर्कुलर जारी गरेको थियो ।