गल्छी गाउँपालिकाको भुत्याहामा घुम्ति शिविर संचालन

1074 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी-गल्छी गाउँपालिकाले गाउँ गाउँमा पुगेर समुदायका बिचमा विभिन्न किसिमका सेवाहरु प्रवाह गर्ने उद्धेश्यले घुम्ति शिविर कार्यक्रम संचालन गरेको छ । अभियानको रुपमा संचालित शिविर शनिवार गल्छी गाउँपालिकाका वडा नम्बर २ को भुत्यहामा सम्पन्न भएको छ ।
गाउँपालिकाले विभिन्न वडाहरुमा पुगेर अपाङ्गता भएका र जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण गर्ने तथा कृषि तथा तरकारीको विउ विजन वितरण गर्ने, पशु स्वास्थ्य उपचार तथा औषधि वितरण मार्फत समुदायलाई सेवा प्रवाह गर्नका लागि घुम्ती शिबिर संचालन गरिरहेको छ । शनिवार गल्छि गाउँपालिकाको वडा नम्बर २ भुत्याहामा सम्पन्न भएको शिविरमा १९७ जनालाई जेष्ठ नागरिक र १२ जनालाई अपाङ्गता परिचय पत्र बितरण गरिएको वडा नम्बर २ का वडाअध्यक्ष षडानन्द खनालले जानकारी दिनुभयो ।
वडाध्यक्ष खनालका अनुसार शिविरमा १ सय ९८ जना किसानलाई कृषि तथा तरकारीको विउ ३ सय ५ जना कृषकलाई मकैको बिउ बितरण गरिएको छ । त्यसै गरी घुम्ती शिबिरमा ६ सय १० वटा गाई, भैसि, १६ सय ९५ बाख्रा , दुई हजार चार वटा ३४ कुखुराहरुको स्वास्थ्य परिक्षण गरि नाम्ले, जुका, भिटामिन लगायतका औषधि बितरण गरिएकोे थियो ।
बैशाख १२ गते बाट सुरु भएको घुम्ती शिबिर साविकको कल्लेरी गाविसमा पर्ने गल्छी गाउँपालिकाको ३ वटै वडामा सम्पन्न भएको छ । बिभिन्न वडाहरुमा संचालन हुँदै १७ गते शिविर सम्पन्न हुने र यसबाट गाउँपालिका भित्र रहेका अपाङ्गता भएका तथा जेष्ठ नागरिकले घरदैलोमै परिचय पत्र पाउने र किसानहरुले पशु स्वास्थ्य उपचार, तरकारी तथा मकैवालीको विउ विजन लगायतका सेवाहरु लिन सक्ने गल्छी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडिले धादिङ न्यूजलाई बताउनु भयो । शनिवार भएको शिविरमा गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना,वडा नम्बर २ का वडा अध्यक्ष षडानन्द खनाल, वडा सदस्यहरु, गाउँपालिकाका बिषयगत शाखाका प्रमुख तथा अन्य कर्मचारीहरुका साथै गुप्तेश्वरी अपाङ्ग समूहका अध्यक्ष राजु रेग्मी तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । अपाङ्ग समुहले शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोगीको भुमिका निर्बाह गरिरहेको जनाएको छ ।