ज्यानमुद्धामा फरार तिप्लिङका तीनजना पक्राउ

1211 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१६ बैशाख – कर्तव्य ज्यान मुद्धामा अभियुक्त ठहर भई फरार रहेका धादिङका तीन जनालाई घटना भएको १२ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २०६३ साल कात्तिक ७ गते राती ८ बजेको समयमा धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ स्थित कामी गाउँ साविकको तिप्लिङ गाविसमा २७ वर्षीय देवबहादुर बिकलाई देउसी खेल्न जान नमानेको भन्दै कुटपिट गरी हत्या गरि फरार रहेका ३ जना पक्राउ परेका हुन ।
बिरामी अवस्थामा रहेका देवबहादुरलाई हेम डल्ला बिक समेतका ८ जनाले कुटपिट गर्दा घाईते भएको र घाईते भएका उनलाई स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गर्दै गर्दा मृत्यु भएपछि सोही दिन नै शव चिमडाँडामा जलाईएको प्रहरीले जनाएको छ । घटनापछि कर्तव्य ज्यान मुद्धामा अभियुक्त ठहर भएपछि फरार रहेका तीन जना अभियुक्त साँढे १२ बर्ष पछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घटनामा संलग्न ८ जना मध्ये फरार रहेका तीनजनालाई २०७६ बैशाख ११ र १५ गते प्रहरीले पक्राउ गरी बैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । गत बैशाख ११ गते काठमाडौँको गौशलाबाट ४० वर्षीय सार्की बिकलाई पक्राउ गरिएको थियो उनलाई दुई वर्ष कैद सजायँ तोकिएको छ । त्यस्तै आइतबार थप दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुविभ्याली गाउँपालिका २ बस्ने ५९ वर्षीय बमहादुर बिकलाई तिप्लिङको कामी गाउँबाट पक्राउ गरिएको छ भने सोही ठाउँका ३४ वर्षीय हेम डल्ला बिकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका ५ प्राजुङबाट पक्राउ गरिएको प्रहरीले  जानकारी दिएको छ । बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको धादिङका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।
घटनामा संलग्न रुविभ्याली गाउँपालिका –२ बस्ने ४५ वर्षीय पूर्णबहादुर बिकलाई २०६४ भदौ ११ गते नै पक्राउ गरिएको थियो । उनलाई १० वर्ष कैद जरिवाना तोकिएको छ । त्यस्तै सोही ठाउँका ३१ वर्षीय मंगले कामी भन्ने डिलबहादुर बिकलाई २०७३ साल जेठ ३ गते पक्राउ गरी कारागार चलान गरिएको थियो उनलाई पनि २ वर्ष कैद तोकिएको बैदवारले वताउनुभयो । पूर्णबहादुर र डिलबहादुर दुवैले कैद सजायँ भुक्तान गरी सफाइ पाइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
घटनामा संलग्न अमृता बिक र पंचमाया बिकले पनि अदालतबाट सफाई पाइसकेका छन् । अर्का आरोपी रुविभ्यालीकै २८ वर्षीय कालु बिकलाई २० वर्षको कैद तोकिएकोमा उनको दुई वर्ष अगाडि नै मृत्यु भएको भनि परिवारले प्रहरीलाई जानकारी दिएकोले यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले वताएको छ ।
घटनापछि मृतकका भाई गमबहादुर बिकले प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा फरार अभियुक्त पक्राउ बिशेष अभियान अन्तरगत विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक बैदवारले जानकारी दिनुभयो ।