बेल्खुमा दुर्घटना,गुर्जुधाराका दुई युवकको मृत्यु

1448 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१८ बैशाख – दुईवटा सवारी साधन एकआपसमा ठोक्किएर छटपटाईरहेका घाईतेलाई उठाउन नभ्याउँदै अर्को सवारी साधनले पेलिदिंदा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको बेल्खुमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिकाको गुर्जुधारा बस्ने बर्ष २९का राज महर्जन र सोही ठाँउका बस्ने वर्ष ३० का कवी कुमार महर्जन रहेको प्रहरीले जनाएको छ ।
बुधवार दिउँसो १ वजे तिर मुग्लिन तर्फबाट काठमाण्डौँ जांदैै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाईकल, काठमाण्डौँबाट नवलपरासी तर्फ जाँदै गरेको बा ४ ख ९१०३ को माईक्रोबसमा ठोक्किएर दुर्घटना भएको थियो । माईक्रोबस र मोटरसाईकल एक आपसमा ठोक्किएर अनियन्त्रित भई मोटरसाईकल पल्टिएपछि चितवनबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किच्दा मोटरसाईकलमा सवार दुई युवकको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले धादिङ न्यूजलाई जानकारी दिनुभयो ।
पृथ्वीराजमार्गको बेल्खु खण्ड अत्याधिक सवारी दुर्घटना हुने स्थलमा चिनिन्छ । सडकको वनावट अनुसार सवारी साधनले गति सिमित गरेर गुड्दा दुर्घटनामा कमि आउने भएपनि सबैले हतार गरिदिंदा यहाँ दिनहुँ जसो दुर्घटना हुने गरेको स्थानीय बताउँछन । दुर्घटना पछि घटनास्थल मुचुल्का पश्‍चात पोष्टमार्टमको लागी दुवै शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा राखिएको छ ।  घटनामा संलग्न माईक्रो बस चालक जिल्ला पूर्वी नवलपरासी अरुणखोला न.पा.१२ बस्ने वर्ष ३७ को धन बहादुर चौधरी र ट्रक चालक जिल्ला धादिङ थाक्रे गा.पा.४ बस्ने वर्ष ३५ को राजु अर्याल सहित ट्रक‚ माईक्रो बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय गजुरी धादिङको नियन्त्रणमा  रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । ।