नेपालमा क्यान्सर भयावह बन्दै

1060 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ ।

नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ । क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको छ । बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइण् छ ।
क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ । क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ ।

मुख्यतः महिलामा पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्रा, पेटको क्यान्सर र पुरुषमा फोक्सो, घाँटी, आन्द्राको क्यान्सर हुने गर्छ । सुरुकै चरणमा क्यान्सर पत्ता लागेमा निको हुने र अन्तिम चरणमा क्यान्सर हो भनेर पहिचान भएमा प्रभावितलाई बचाउन मुस्किल हुने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् ।
क्यान्सर रोग विशेषज्ञ डा। आविश अधिकारीले क्यान्सर एक प्रकारको घाउ भएको भन्दै लामो समयसम्म घाउ देखिए तुरुन्त नजिकको अस्पतालमा गएर स्वास्थ्य जाँच गर्नुपर्ने बताए । उनले भने, ‘क्यान्सरको उपचार हुन्छ तर प्रारम्भिक अवस्थामा अस्पताल पुग्नुपर्छ ।’ उनले चुरोट सेवन नगर्ने हो भने मात्रै क्यान्सर लाग्ने बिरामीको संख्या अत्यधिक घट्ने बताए ।
काउन्सिलका अनुसार क्यान्सर रोकथामका लागि जनचेतनाका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेख्नु भएको छ ।