पिपलटारमा पुनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाई

951 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका वडा नम्वर ७ पिपलटारमा पुनर्निर्माणको विषयमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा सञ्चालन गर्दै आइरहेको ‘भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार’ (आइपिइआरआर) कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सिद्धलेक गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष लक्ष्मण खतिवडाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुगमन तथा मुल्यांकन अधिकृत लक्ष्मी श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन अन्तर्गत फिल्ड प्राविधिक दिपेश्वर यादव, गैर सरकारी संस्था महासंघ नेपाल ३ नम्वर प्रदेशका अध्यक्ष दामोदर अर्याल, वडा सदस्यहरु लगायत स्थानीयबासीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि स्थानीय भुकम्पप्रभावितहरुले वडामा खटिएका प्राविधिकलाई भेट गर्नै समस्या रहेको, बोलाएको बेलामा नआउने गरेको, घर बनाउँदै गर भनेपछि सोही अनुसार घर बनाउँदा पनि पछि गएर हुँदैन भनेर दुःख दिने गरेको, भुकम्पले घर भत्काएको भएपनि लाभग्राही सूचिमा नाम नपरेको, इटा भन्दा पनि बलियो गरी आफैंले घरमा ब्लक बनाएर अन्य मापदण्ड पुरा गरी घर बनाउँदा पनि ब्लक लगाएकै कारण घर पास नभएको, घरमा बस्नै नसक्ने अवस्था रहेको भएपनि मर्मत गरेर बस्न योग्य भनि आएको लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सहभागिहरुले राखेका जिज्ञासाका विषयमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुगमन तथा मुल्यांकन अधिकृत लक्ष्मी श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन अन्तर्गत फिल्ड प्राविधिक दिपेश्वर यादवले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले भुकम्प पछिको पुनर्निर्माणमा स्थानीयबासीको पनि हेलचेक्राई रहेको बताउनुभयो । उहाले पुननिर्माणको कामलाई कसरी बलियो बनाउने भन्दा पनि कसरी थोरै पैसामा घर बनाउने भन्ने गरी गाल टार्ने प्रबृतिको विकास भएको बताउनुभयो । उहाले अव गाउँपालिकाका सबै वडामा पुननिर्माणको अभिलेख संकलन गर्ने तयारी रहेको भन्दै रकम लिएर पनि घर नबनाउने लाभग्राहीसँग रकम फिर्ता गराउने अभियानमा गाउँपालिका लाग्ने योजना रहेको बताउनुभयो ।

कतिपय वडामा प्राविधिकहरुको काम चित्त बुझ्दो नभएको बताउँदै उहाले गाउँपालिकाको अधिनमा प्राविधिक नभएकै कारण अहिले धेरै समस्या आएको बताउनुभयो । अर्को प्रंसंगमा उहाले गाउँपालिका सधैं पारदर्शि ढंगबाट काम गर्ने गराउने पक्षमा रहेको समेत स्पष्ट पार्नुभयो ।