धादिङमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई दिनमा १४ जनाको मृत्यु

1058 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ६ जेठ – शनिवार र आईतबार धादिङ जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाण्डौं आउँदै गरेको रात्री वस आईतबार विहान गजुरी गाउँपालिकाको बन्छेटारमा सडकबाट त्रिशूली नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा र पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आईतबारनै  काठमाण्डौबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्ने क्रममा नदीमा डुवेर एक जनाको मृत्यु भएको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ४ चिरौँदीमा ओर्लिएर त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको नदीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नबराज ढुंगेलले जानकारी दिनुभयो । काठमाण्डौबाट मोटरसाइकलमा चार जना आएकामा उनिहरु चिरौंदीमा रोकिएर त्रिशूली नदीमा नुहाउन गएका थिए । पौडी खेल्नेक्रममा डुबेपछि समयमै उद्धार हुन नसक्दा बोहोराको मृत्यु भएको हो ।

यसै गरी धादिङको नौबिसेमा भएको दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । धार्केबाजारबाट नौबिसेतर्फ जाँदै गरेको बा ३५ प ९३९१ नम्बर को मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा धुनीबेसी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । त्यसै गरी बाटो निर्माण गर्दा खोलाबाट ग्राभेल निकालिएको खाल्डोमा डुबेर धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा एक बालकको मृत्यु भएको छ ।

त्यसै गरी धादिङको बेनिघाट रोराङ गाउँपालिका २ स्थित ताल्तीमा निर्माण हुँदै गरेको ह्वासिन नारायणी सिमेन्ट उद्योगमा जाने बाटो निर्माण गर्न मलेखुखोलाबाट ग्राभेल निकाल्दा खोलामा बनेको खाल्डो डुवेर गजुरी गाउँपालिका वडा नम्बर २ का ८ बर्षिय केदार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार पौडी खेल्न गएका तीनजना मध्ये गिरीको खाल्डोमा डुवेर मृत्यु भएको थियो । सडक खन्दा लापरवाही भएको भन्दै गजुरी गाउँपालिकाका स्थानीय वासीले विरोध जनाउँदै आएका छन् । मृतकको परिवारलाई वेनिघाट रोराङ गाउँपालिकाको तर्फबाट १० लाख क्षतीपुर्ति दिने सहमती भएपछि बालकको शव आईतबार मात्रै आफन्तहरुले बुझेका थिए ।

यसै गरी आईतबार नै नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मस्र्याङछापका ५८ बर्षिय एक वहादुर लामिछाने मगरको रुखबाट लडेर घाईते भएको अवस्थामा उपचार गर्न लैजांदै गर्दा मृत्यु भएको छ । रुखबाट लडेर गम्भिर घाईते भएका मगरलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि काठमाण्डौं लैजानेक्रममा मृत्यु भएको थियो ।