रेडक्रसको केन्द्रीय समिति विघटन, धादिङका सीताराम कोइराला केन्द्रिय कोषाध्यक्षमा चयन

1278 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। सरकारले रेडक्रसको वर्तमान केन्द्रिय समितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीयसमिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडांैले नेपाल रेडक्रस सोसाइटीका वर्तमान अध्यक्ष सञ्जीव थापा नेतृत्वको कार्यसमिति विघटन गर्दै सोसाइटीका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्यीय तदर्थ कार्यसमिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको महामन्त्रीमा झापाका कमलप्रसाद निरौला र कोषाध्यक्षमा धादिङका सीताराम कोइराला चयन भएका छन् । नयाँ गठित तदर्थ समितिका सदस्यहरूमा जाजरकोटका वीरबहादुर बस्नेत, झापाका लोकराज ढकाल, सिन्धुलीका अशोक श्रेष्ठ, पर्साका श्याम पोख्रेल, बर्दियाका कृष्ण गौतम, महोत्तरीका दीपक मिश्र, बाँकेका गोवद्र्धन सम्झना, उदयपुरका महेश्वरी राई रहेका छन् । यसैगरी, दैलेखका खेमराज केसी, तेहथुमका श्रीकृष्ण दाहाल, कास्कीका दीपेन्द्र ढकाल, तनहुँका अरुण खनाल, कैलालीका जीवन राना र चितवनका तीर्थराज घिमिरे रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ को दफा ११ बमोमिज रेडक्रसको वर्तमान कार्यसमिति विघटन गरिएको जानकारी दिएको छ ।स्रोतका अनुसार रेडक्रको हालको केन्द्रीय कार्यसमितिले व्यापक रूपमा अनियमितता गरेको भन्दै छानबिनको माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरकारका विभिन्न निकायमा उजुरी परेको थियो । अख्तियारलगायत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयसमक्ष अनियमितताको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले समेत छानबिन गरेको थियो । अख्तियारको छानबिन अझै जारी छ ।

रेडक्रसका वर्तमान पदाधिकारीहरूले केन्द्रीय गोदाम घरका लागि जग्गा खरिद, थाई रेडक्रसको सहयोगमा निर्माण भएको केन्द्रीय रक्तसञ्चार भवन निर्माण तथा खानेपानीलगायतका आयोजनामा व्यापक अनियमितता गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले हालका पदाधिकारीलाई बर्खास्त गरी नयाँ तदर्थ समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले जानकारी दिएको छ । अख्तियारले समेत रेडक्रसका वर्तमान पदाधिकारीमाथि छानबिन गरिरहेको र छानबिनका क्रममा पदमा रहँदा उनीहरूले प्रमाण नष्ट गर्न सक्ने भएकाले बर्खास्त गरिएको प्रशासन स्रोतको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिको कार्यकाल २०७६ साल वैशाख मसान्तमै सकिए पनि उनीहरूले काम गर्दै आइरहेका थिए । कल्याणकारी, मानवीय तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण कार्य गर्नुपर्ने रेडक्रसमाथि नै गम्भीर अनियमितताको आरोप लाग्नु दुःखद् भएको प्रशासनका अधिकारीहरूको भनाइ छ ।

नयाँ तदर्थ समितिलाई एक वर्षभित्रै विधान संशोधन गरी विभिन्न कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ । जसअनुसार नयाँ तदर्थ समितिलाई नवीकरण भएका सदस्यहरूको छानबिन तथा पुनः सदस्यतता नवीकरणसम्बन्धी कार्य गर्ने तथा उपत्यकाका शाखा तथा प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । यसैगरी, यसअघिका पदाधिकारीहरूले प्रयोग गर्दै आइरहेका विभिन्न सामान, जिन्सी, अभिलेखलगायतका कागजात अविलम्ब तदर्थ समितिलाई बुझाउन पनि निर्देशन दिइएको छ । साथै हालै गठन गरिएको तदर्थ समितिलाई सम्पूर्ण आर्थिक अधिकार दिइएको छ ।