चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा निधन

2782 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –  धादिङको मैदीमा जन्मनु  भएका चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा असामायिक निधन भएको छ । ब्लड क्यान्सरबाट थलिनु भएको घिमिरे दुई महिनादेखी नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा स्वास्थ्य उपचार गराईरहनु भएको थियो । उपचारको क्रममा नै विहिवार दिउँसो ११ वजे उहाँको निधन भएको हो । बास्तविक नाम कृष्णप्रसाद घिमिरे भएपनि साहित्य क्षेत्रमा उहाँ घिमिरे मैदेलीको नामले चिनिनुहुन्थ्यो ।
धादिङ जिल्लाको साविक मैदी गाविस वडा नम्बर ७ पोखरीथोकमा बिक्रम सम्वत २०१० साल बैशाख १० गते घिमिरे जन्मनु भएको थियो । जन्मथलो धादिङको मैदी भएपनि घिमिरे परिवार सहित अमृतनगर कलंकी काठमाण्डौंमा बस्दै आउनु भएको थियो । जन्मथलोलाई सदैव सम्झिरहन आफ्नो साहित्यिक नाम घिमिरे मैदेली राख्नुभएका घिमिरेले समसामयिक बिषयमा सटिक व्यङ्ग्य लेख्दै आउनु भएको थियो । व्यङ्ग्यका साथै नेपालको साहित्यीक आन्दोलनमा घिमिरेको ठुलो योगदान छ ।
मैदेली घिमिरेको ट्याब्लेटको मान्छे ,मैदेलीको मादल लगायतका हांस्य व्यङ्ग्य संग्रहका साथै दैनिक, साप्ताहिक,पाक्षिक र मासिक लगायतका पत्रपत्रिकामा एक हजारभन्दा बढी लेख रचना प्रकाशित भएका छन । घिमिरेको घुँयेत्रो व्यङ्यसङ्ग्रह , लगायत अन्य तीन कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन ।
हांस्यव्यङ्ग्य साहित्यकारहरुको संस्था सिस्नोपानी नेपालको आजिवन सदस्य रहनु भएका घिमिरे काठमाण्डौंमा रहेर तीन दशक देखि शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो । घिमिरेको निधनले धादिङको साहित्य अभियानमा पनि अपुरणिय क्षती पुगेको छ ।