बूढीगण्डकी आयोजना क्षमता नघटाउन काँग्रेस धादिङको आग्रह

1506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणमा ढिलाई नगर्न र डुवान क्षेत्रमा बाँकी रहेको मुआव्जाको बितरण सुचारु गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ । आईतबार काँग्रेस धादिङका सभापति रमेश धमलाले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका सरकारको ध्यानाकर्षण गराउनु भएको हो । आईतबार नेपाली कांग्रेस धादिङ र बुढीगण्डकी डुवान क्षेत्रका वासिन्दाहरुका बिच छलफल भएपछि पार्टीले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आरुघाट, त्रिपुरेश्वर खहरे र आरखेत क्षेत्रमा रहेका घरजग्गा र बोटबिरुवाको मुआब्जा तत्काल निर्धारण गर्न र प्रभावित स्थानीय वासिन्दाको समस्या समाधान गरिदिन सरकारसंग आग्रह गरेको छ । त्यसै गरी परियोजनाबाट डुबान क्षेत्रमा पर्ने स्थानीय वासिन्दालाई न्यायपूर्ण पुनर्वासको व्यवस्था तत्काल सुरु गर्न पनि सरकासँग आग्रह गरेको छ । यता आयोजनाको क्षमता घटाउने बिषय उठीरहेको बेला परियोजनाको उत्पादन लक्ष्य १२०० मेघावाटबाट नघटाउन पनि विज्ञप्ति मार्फत नेपाली कांग्रेस धादिङले सरकारसँग माग गरेको छ ।