पत्रकार महासंघले देशभरका सञ्चार माध्यमको अनुगमन गर्ने

626 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, साउन १३ – नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको अनुगमन थाल्ने भएको छ ।

आइतबार बसेको महासंघको बैठकले श्रमजिवी पत्रकारको हितलाई ध्यानमा राख्दै देशभरका सञ्चारमाध्यममा प्रेस रजिष्ट्रार र न्यूनतम  पारिश्रमिक निर्धारण समितिसहितको संयुक्त अनुगमन र दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौंबाट सुरु भई २ महिनासम्म देशैभरि चल्ने अभियानमा सञ्चारगृहबाट जबर्जस्ती निकालिएका, नियुक्तिपत्र र तलव नपाएका श्रमजीवी पत्रकारकाबारे छानबिन गर्ने र उनीहरुका पक्षमा कानुनी संघर्षलाई समेत विशेष जोड दिइने महासंघले जनाएको छ ।

बैठकपछि महासंघले निकालेको विज्ञप्ति अनुसार महासंघले श्रमजीवी पत्रकारको न्यूनतम तलव १५ हजार रुपैयाँभन्दा माथि बनाउने अभियानलाई तीब्र बनाउने अभियान थाल्ने भएको छ ।

यसैबीच महासंघले निरन्तर ३० वर्ष पत्रकारिता गरेका र ६५ वर्ष उमेर पुगेका पत्रकारलाई ‘वरिष्ठ पत्रकार सम्मानवृति’ कार्यक्रम अन्तर्गत वार्षिक ६ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । कार्यक्रम साउन १ देखि लागू हुने महासंघले जनाएको छ ।

बैठकले सुनसरीका पत्रकार सोमनाथ बास्तोला र सुर्खेतका पत्रकार भूमि सापकोटाले पत्रकारिताको मूल्य र मान्यता तथा महासंघकै विधानविपरीत काम गरेकाले तीन दिनको समय तोकी स्पष्टीकरण सोधेको छ ।

बैठकले एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज कर्णिकारले पत्रकार नवीन ढुंगानालाई दुव्र्यवहार गरेको र पत्रकार ढुंगाना र ज्योती शाहलाई बर्खास्त गरेकोप्रति भत्र्सना गर्दै निष्काशित पत्रकारलाई अविलम्ब वहाली गर्न आग्रह गरेको छ ।

महासंघले झापाका पत्रकारको विवाद अन्त्य गर्न महासंघका पूर्वाञ्चल सहसंयोजक सिद्धराज राईको संयोजकत्वमा ३ सदस्यीय समिति तथा काभ्रे शाखाको विवाद अन्त्य गर्न महासंघका मध्यमाञ्चल संयोजक महेश दासलाई जिम्मा दिएको छ ।

बैठकले पत्रपत्रिकाको वर्गीकरण गर्ने काम प्रेस काउन्सिलबाट अलग राखी एउटा स्वतन्त्र र व्यवसायिक संयन्त्रमार्फत गर्ने व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ ।

बैठकपछि महासंघले निकालेको विज्ञप्ति जस्ताको तस्तै

२०७०।०४।१३
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौं बैठक साउन १३ गते काठमाडौंमा बस्यो  । महासंघका अध्यक्ष शिव गाउँलेको अध्यक्षतामा बसेको उक्त बैठकले पत्रकारहरुको पेशागत सुरक्षा, महासंघको सांगठनिक काम–कारबाहीका विषयमा गहन छलफल गरी निम्न निर्णयहरु गरेको छ ।

बैठकका प्रमुख निर्णयहरु देहायबमोजिम छन्–

१. नेपाल पत्रकार महासंघ संविधानसभाको निर्वाचन भयरहित वातावरणमा तोकिएकै समयमा गर्न सरकारसँग माग गर्दछ । र, असन्तुष्ट राजनीतिक दलहरुले अघि सारेका मागहरुप्रति गम्भीर बन्दै उनीहरुलाई पनि संविधानसभाको निर्वाचनमा ल्याउन विशेष पहल गर्न नेपालका प्रमुख राजनीतिक दल र सरकारसँग आग्रह गर्दछ ।

२. श्रमजीवी पत्रकारहरुको हितलाई केन्द्रमा राखेर नेपाल पत्रकार महासंघको अगुवाईमा  प्रेस रजिष्ट्रार र न्यूनतम  पारिश्रमिक निर्धारण समितिसहितको संयुक्त अनुगमन तथा दबाबमूलक अभियान सञ्चारगृहहरुमा सञ्चालन गरिने भएको छ । काठमाडौंबाट सुरु गरिने दुई महिने उक्त अभियान देशभर सञ्चालन गरिनेछ । सञ्चारगृहबाट जबर्जस्ती निष्कासित गरिएका, नियुक्तिपत्र र तलव नपाएका श्रमजीवी पत्रकारहरुका पक्षमा कानुनी संघर्षलाई समेत विशेष जोड दिइनेछ ।

३. सूचना विभागबाट जारी गरिएको प्रेस पास वितरणलाई अझ प्रभावकारी बनाउन महासंघ विभागलाई अनुरोध गर्दछ । साथै, सञ्चारगृहहरुले नियुक्तिपत्र, तलव नदिएका कारण पत्रकारहरुलाई सहजरुपमा प्रेस पास उपलब्ध गराउन नसकेको कुरा पनि सम्बन्धित सञ्चारगृहहरुलाई जानकारी गराउन विभागलाई आग्रह गर्दछ ।

४. आमसञ्चारमाध्यमले आचारसंहिता पालना गरे÷नगरेको जस्तो महत्वपूर्ण विषयको अनुगमन गर्ने प्रेस काउन्सिलजस्तो निकायले पत्रपत्रिकाको वर्गीकरण गर्नेजस्तो काममा संलग्न हुनु काउन्सिलको स्थापित मान्यताविपरीत हुने भएकाले पत्रपत्रिकाको वर्गीकरण गर्ने कामबाट काउन्सिललाई अलग राख्न सरकारसँग माग गर्दछ । साथै, एउटा स्वतन्त्र र व्यावसायिक संयन्त्रमार्फत पत्रपत्रिकाको वर्गीकरण र मूल्याङ्कन गर्न आग्रह गर्दछ ।

५ बैठकले समावेशी विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावका लागि सबै सभासदहरुलाई पठाउने तथा सम्वद्ध सञ्चार संगठनहरुसँग राय  सुझाव लिई आवश्यक प्रक्रिया अगाडि बढाउन महासंघका अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरु बालकृष्ण बस्नेत, खीम घले, संगीता खड्का, धर्मेन्द्र कर्ण र प्रकाश थापा रहेका छन् ।

६. श्रमजीवी पत्रकारहरुको न्यूनतम तलव १५ हजारभन्दा माथि बनाउने अभियानलाई तीब्र बनाउने अभियान महासंघले थालेको आम श्रमजीवी पत्रकारहरुलाई अवगत गराउँद छ ।

७. झापाका पत्रकारहरुले गरेको रिले अनसनका कार्यक्रम फिर्ता लिन महासंघ आग्र गर्दछ । र, त्यहाँ देखिएको विवाद अन्त्य गर्नका लागि महासंघका पूर्वाञ्चाल क्षेत्रीय सहसंयोजक सिद्धराज राई संयोजकत्वमा महासंघ सुनसरी शाखाका अध्यक्ष केशव घिमिरे र मोरङ्ग शाखा अध्यक्ष विक्रम निरौला सदस्य रहेको समिति गठन गरिएको छ । समितिलाई एक हप्ताभित्र विवाद अन्त्य गर्न बैठकले निर्देशन गरेको छ ।

साथै, सुनसरीका पत्रकार सोमनाथ बास्तोला र सुर्खेतका पत्रकार भूमि सापकोटाले पत्रकारिताका मूल्य र मान्यताविपरीत र महासंघकै विधानविपरीत कार्य गरेकाले निजहरुलाई तीन दिनको समय तोकी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साथै, काभ्रे शाखामा देखिएको विवाद अन्त्य गर्न महासंघका मध्यमाञ्चल संयोजक महेश दासलाई जिम्मा दिने निर्णय बैठकले गरेको छ ।

८. नयाँ सदस्यताका सम्बन्धमा भदौ १५ गतेभित्र केन्द्रीय कार्यालय र क्षेत्रीय संयोजक र सहसंयोजकमार्फत आवेदन पेश गर्न सम्पूर्ण शाखाहरुलाई महासंघ अनुरोध गर्दछ । र, भदौ १५ पछि विधानको व्यवस्थालाई समेत ध्यानमा राखेर नयाँ सदस्यताबारे निर्णय नगरिने समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ । साथै, असोज मसान्तभित्र सदस्यता नवीकरण गर्न सबै सदस्यहरुलाई अनुरोध गर्दछ ।

९. एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज कर्णिकारले श्रमजीवी पत्रकार नवीन ढुंगानालाई दुव्र्यवहार गरेको र पत्रकार ढुंगाना र ज्योती शाहलाई बर्खास्त गरेको कार्यप्रति बैठक भत्र्सना गर्दछ । र, निष्कासित पत्रकारलाई अविलम्ब वहाली गर्न र श्रमजीवी पत्रकारहरुको सम्मान गर्न बैठक आग्रह गर्दछ ।

१०. निरन्तर ३० वर्ष पत्रकारिता गरेका र ६५ वर्ष उमेर पुगेका पत्रकारलाई ‘वरिष्ठ पत्रकार सम्मानवृति’ कार्यक्रमअन्तर्गत वार्षिक ६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय महासंघले गरेको छ । महासंघले आफ्नो कल्याणकोषमा रहेको रकमको व्याजमार्फत यो कार्यक्रम सुरु गर्न लागेको हो । कार्यक्रम साउन १ देखि लागू हुनेछ ।

ओम शर्मा
महासचिव