जन्मेको ठाउँलाई बिर्सियो कि भन्ने चिन्ता, धादिङको पर्यटन विकासमा पत्रकार र व्यवसायीको चासो

2785 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । राजधानीसँग जोडिएको जिल्ला भएर पनि सधैं पछाडिको पछाडि नै । नाउँ र ठाउँ चिनाएर जिल्लाको विकास गर्न सक्ने पत्रकार औंलामा गनिनसक्ने छन् । चितवनपछि देशमै सबैभन्दा धेरै पत्रकार भएको जिल्ला हो, धादिङ । अरु क्षेत्रमा पनि धादिङका मान्छे उत्तिकै छन् । सोलुखुम्बुपछि धेरै पर्यटन व्यवसायी भएको जिल्ला पनि धादिङ नै पर्छ ।

यति धेरै पत्रकार र पर्यटन व्यवसायी भएपनि धादिङको पर्यटन विकास सोचे अनुसार हुन सकेको छैन । किन यस्तो भयो त ? शनिबार काठमाडौंमा भेला भएका धादिङका गन्नेमान्ने पत्रकार र पर्यटन व्यवसायीले यसबारे बहस र छलफल गरे । सबैको एकै मत थियो-’आफू जन्मे र हुर्केको ठाउँलाई हामीले बिर्सन थाल्यौं, त्यसकारण हामी र हाम्रो ठाउँ ओझेलमा पर्यो ।’

गणेश हिमाल पर्यटन विकास समितिले आयोजना गरेको छलफलमा जिल्लाका पत्रकारहरुले पर्यटकीय गन्तव्य चिनाउन व्यवसायीले प्रवर्द्धनात्मक कार्यक्रम गर्न नसकेको बताए । तर व्यवसायीको भनाई अर्कै थियो । आफ्नो ठाउँलाई चिनाउन पत्रकारले भूमिका निर्वाह गर्न नसकेको उनीहरुले आरोप लगाए । एकअर्काको आरोप र गुनासा सुनेपछि दुवैथरीले अब जिल्लाको पर्यटन विकासमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘आफु जन्मेको गाउँ र ठाउँलाई यहाँका बासिन्दाले नबिर्सने हो भने धादिङको पर्यटन विकास सम्भव छ’ समितिका अध्यक्ष कुलबहादुर गुरुङले भन्नुभयो-’धादिङमा महत्वपूर्ण पर्यटकीय स्थल भएकाले यसको प्रचार गरेर विश्वसामु चिनाउन जरुरी छ ।’

के छ धादिङमा ?

भौगोलिक रुपले विविधता रहेको धादिङमा पर्यटन विकासको सम्भावना प्रचुर मात्रामा रहेको पाइन्छ । गणेश हिमाल, त्रिशुली नदी, बुढीगण्डकी नदी, कल्लेरीको गुप्तेश्वर गुफा, झार्लाङको तातोपानी, गणेश कुण्ड, नलाङको सिद्धलेक, सल्यानटारको पाँचधारा, धादिङगढी, ज्यामरुङ दरबार, त्रिपुरासुन्दरीमाई, चमेरे गुफा, मोती गुफा, ढोला मण्डली, घलेराजाको दरबार, गंगाजमुना झरना, भैरवी मन्दिर, विन्दुकेश्वर महादेव, छोइलिङ गुम्बा लगायतका एतिहासिक दरबार, सम्पदा र नदीनालाले धादिङमा पर्यटक आकर्षण गराउन सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

जिल्ला विकास समिति धादिङले आफ्नो वेवसाइटमा जिल्ललाका पर्यटकीय एवं ऐतिहासिक विशेषता निम्न अनुसार रहेको उल्लेख गरेको छः

प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु
धादिङ जिल्ला भित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला, हिमशिखरहरु, ताल, झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलहरुको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन् :
क) चमेरे गुफा:
यो गुफा खाल्टे गा. वि. स. को वडा नं. ५ र ७ को बीचमा रहेको नागढुङ्गा डाँडाको पूर्व मोहडा फर्केको पाटोमा रहेको छ। सल्लाघारीको बीचमा अवस्थित यस गुफालाई प्रकृतिको अद्दितीय वरदानको रुपमा लिनु पर्दछ किनकि यस गुफाभित्र ४ तलासम्म पुगी भित्रका आकृतिहरु अड्कल गर्दा आदिम युगमा वर्णन गरिएजस्तै सबै ईश्वरहरु यही नै छन् कि जस्तो भान पर्दछ । हाल यस गुफासम्म पुग्न एउटा गोरेटो बाटो, गुफाको गेटमा खाने पानी धारो र एउटा शिवमन्दिर निर्माण गरएको छ ।
ख) सिद्धलेक :
नलाङ गा. वि. स. वडा नं. १ र सलाङ गा. वि. स. वडा नं. ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ। सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १५२५ मि. अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गा. वि. स. हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।
ग)   ज्वालामुखी :

jwalamukhi
चैनपुर गा. वि. स. वडा नं. ८ र मुरलीभञ्ज्याङ गा. वि. स. वडा नं. ९ को बीचमा झण्डै १४०० मी. उचाइमा  अवस्थित ज्वालामुखी महत्त्वपुर्ण ऐतिहासिक स्थलको रुपमा  रहेको छ । सो स्थलबाट आँखुको काखैमा रहेको समतल भूमी  एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पुर्व एवं  पश्चिममा बग्ने आँखु एवं बूढी गण्डकी नदी देख्न सकिन्छ  भने उत्तरतर्फ थुप्रै हिमाली श्रृंखलाहरुको दृश्य देख्न सकिन्छ ।  यसै गरी यस स्थलबाट धादिङ जिल्लाका ५० वटै गा. वि. स.  हरू देख्न सकिन्छ । यस स्थलमा फागु पुर्णिमामा ठुलो मेला लाग्ने गर्दछ ।
घ)गुप्तेश्वरीगुफा 

gupteswor
कल्लेरी गा. वि. स. को वडा नं. ९ अर्न्तर्गत पर्ने  मुलाबारी गाउँको माथी नाङ्गो डाडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन  गर्न सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने  दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु, मानव लगायत खेतबारीको  स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मुर्र्ति आकारको  साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।
ङ)   गंगा जमुना:

ganga-jamuna
गंगजमुना झरनाफूलखर्क गाउँ विकास समितिको वडा नं. ४ मा पर्ने  ढाँडखर्कको सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक  स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा  ढाँडखर्कको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी.  को हाराहारीमा पर्ने गंगा र जमुना नामका दुइवटा झरना पहरावाट तल झर्दा  सप्तरंगी इन्द्रेणीको एक अति आकर्षक दृश्य देख्न सकिन्छ ।  यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला  आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले गंगा जमुनाको झनै आकर्षण  वढाएको छ । गंगा जमुनाकै साथमा करिब २०० मी. पर  पश्चिम पट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत  मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।
च) त्रिपुरासुन्दरी मन्दिर:

tripura-sundari
सल्यानकोट गा. वि. स. वडा नं. ५ मा रहेको यो मन्दिर  एक धार्मिक एवं ऐतिहासिक स्थल हो । प्राकृतिक रुपले उच्च  स्थानमा रहेको हुनाले यहाँबाट अनेकन मनोरम दृश्यहरु देख्न  सकिन्छ । यहाँबाट दक्षिण पट्टि रहेको नागबेली आकारले बगेको आँखु नदी र समतल सुकौरा फाँट, पश्चिम तिर सल्यानटारको समथर जमिन, चारैतिर  रहेका अग्ला अग्ला डाँडाहरुको हरियाली एवं मनोरम दृश्यहरु  देख्न सकिन्छ । यहाँबाट उत्तर तर्फ रहेका उच्च हिम शिखरहरु, प्रशिद्ध गंगाजमुना झरना तथा अन्य  प्राकृतिक दृश्यहरु देख्न सकिन्छ । त्रिपुराशु्न्दरीको सल्यानकोट ५ मा नै २ वटा मन्दीर र आगिञ्चोक गा.बि.स. वडा नं. १ मा १ वटा मन्दीर रहेको छ । उक्त देवीलाई मंसीर महिनामा शुभ साईत हेराएर आगिञ्चोक १ सल्यानवेसिमा रहेको मन्दीरमा झारिन्छ उक्त दिनमा  भक्तजनहरुको ठुलो घुईंचोका साथ मेला लाग्ने गर्छ । जसलाई न्वागी जात्रा पनि भनिन्छ । आगिञ्चोक १ सल्यानवेसिमा रहेको मन्दीरबाट फागुन महिनामा दिन हेराएर नै सल्यानकोट ५ स्थित मन्दीरमा लगिन्छ । उक्त दिनमा भने त्यति ठुलो मेला लाग्दैन । सल्यानकोट ५ मा स्थित मन्दीरमा भने चैते दशैं र दशैंको अष्टमी तथा नवमीमा  असंख्य वलीका साथ मेला लाग्दछ ।
छ)  खर्के डाँडा:
यो नौबिस गा. वि. स. वडा नं. ६ मा रहेको महत्त्वपुर्ण रमणीय पार्क हो । अन्दाजी १५० रोपनी जग्गामा उत्तर-दक्षिण  लम्बिएको आकारमा ड्ढैलिएको यो पार्क काठमाडौंबाट नजिकै  त्रिभुवन राजपथसँग जोडिएको छ । नजिकै रहेको सुगुरे  सामुदायिक वनले यसको आकर्षालाई अझै बढाएको छ ।
ज)  मलेखु मजुवा पुष्पलाल स्मृति पार्क :
गजुरी गा. वि. स. वडा नं. २ को गोल्मारानी ढाँडमा  यो पार्क रहेको छ । पृथ्वीराजमार्गको दक्षिणपट्टि करिब २००  मि. जतिको दूरीमा (मधुमति) मलेखु र त्रिशुली नदीको संगम  स्थलमा रहेको छ । वनबुट्टाहरु रहेको यस स्थलले २०० रोपनी  जति क्षेत्रफल ओगटेको छ ।
झ)  मण्डली माई :
ढोला गाविस वडा नं. २ मा अवस्थित मण्डली माईको  मन्दिर एक चर्चित धार्मिक स्थल हो । यहाँ हरेक मंगलबार  बाख्राको पाठी बली चर्ढाई पूजा-आजा गर्न भक्तजनहरुको  घुइचो लाग्ने गर्दछ । सालको वनको बीचमा रहेको यो  मन्दिरमा महिलाहरु जान नहुने धार्मिक विश्वास रहेको छ ।
यस लगायत धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी,  तातोपानी मूल झार्लाङ, भैरवी मन्दिर सुनौलाबजार जस्ता  प्रशस्तै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।

(अनलाइन खबर बाट)