‘सरकारले गरिबका बस्ती देखेकै छैन’

570 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Dhading - Suryaman Tamang

आलु गोडमेल गर्दै सूर्यमान तामाङ

                                                                                 सूर्यमान तामाङ

महादेवस्थान : मेरो गाउँ धादिङ जिल्लाको दुर्गम महादेवस्थान गाविसमा छ। मकवानपुर र धादिङको सिमानामा रहेको महादेवस्थान गाविस महाभारत पहाड शृंखलाको उच्च भागमा पर्छ। मेरो गाउँको नाम सुन्दरनाङ्गी हो। हाम्रो बस्तीमा मकै, धान, कोदो, गहुँलगायतका अन्नबाली निकै कममात्र फल्ने हुनाले गाउँका धेरैले बारीमा अन्नबाली लगाउन छाडिसके। लेकको बस्ती भएका कारण मकै छरेको नौ महिनासम्म पनि पाक्दैन तर आलु भने लगाएको पाँच महिनामा फल्ने भएकाले गाउँका किसान मकैबाली छाडेर वर्षायाममा समेत आलु खेती गर्छन्।

विकटको गाउँ हुनाले सिँचाइको असुविधा छ। सधैं चिसो भइरहने हुनाले गाउँमा अन्नबालीभन्दा आलुखेती प्राथमिकतामा राख्ने गरिएको छ। केही वर्षअघिसम्म घरमा खानलाई मात्र आलुखेती हुने गरेकोमा अहिले धेरैले मुख्य बालीका रूपमा आलुखेती गरेर आयआर्जन गर्न थालेका छन्। मकवानपुरको टिस्टुङ र धादिङकै पृथ्वी राजमार्गको गजुरीबाट गाउँमा सडक जोड्न पहल हुँदैछ। हाम्रो सुन्दरनाङ्गी गाउँमै भने मोटर आइपुगेको छैन। पृथ्वी राजमार्गमा पर्ने आदमघाट बजारबाट लगातार सात घन्टा उकालो हिंडेर गाउँ आइपुगिन्छ। भारी बोकेर आउनुप:यो भने त बाटोमै बास बस्नुपर्ने हुन्छ।

सुन्दरनाङ्गी गाउँमा सडक जोडिएदेखि आलुखेतीलाई मुख्य बाली बनाएर बेचविखन गर्दा राम्रो आम्दानी लिन सकिन्थो कि भन्ने लागिरहन्छ। हामी गरिबले चाहेर पनि सडक बनाउन सक्दैनौं। सरकारले हामीजस्ता गरिबको बस्ती देखेकै छैन। बजार टाढा भएकाले हामी डोकोमा आलु बोकेर गाउँगाउँमा घुमी अन्न (मकै, कोदो, धान र गहुँ) सँग बराबरीमा साट्ने गर्छौं। बर्खामा आलु बोकेर गाउँघर डुल्न गाह्रो हुने भए पनि मैले १० वर्षदेखि हिउँद होस् या बर्खा, व्यावसायिक रूपमा आलु खेती गरिरहेको छु। यसैबाट पाँचजनाको परिवारलाई राम्रै सँग पालनपोषण गरिरहेको छु। गाउँका अरूको पनि अवस्था यही नै हो। दस वर्षअघि मैले मकवानपुर जिल्लाको दुम्सीखर्कमा आलुखेती गर्न सिकेको हुँ। त्यसपछि हाम्रो गाउँमा पनि व्यावसायिक आलुखेती गर्न सकिन्छ भन्ने लाग्यो र सुरु गरें। अहिले त गाउँका सबैले आलुखेती गर्छन्। गाउँलेले मेरो सिको गरेर खेती गरेको देख्दा पनि खुसी लाग्छ।

हरेक वर्ष २० मुरी अन्न आलुसँग साटेर अन्न घर ल्याउने गरेको छु। हाम्रो गाउँको बारी बलौटे छ। सिँचाइका लागि पनि पानीको अभाव छ। पानीको सदुपयोग गर्न मैले पाइपमा स्प्रिङकलर जोडेर खेती गरिरहेको छु। गाउँका सबैले स्प्रिङकलर जोड्न सकेका छैनन्।

गाउँबासीले व्यावसायिक रूपमा आलुखेती गरेर आयआर्जन गर्दै आएको भए पनि ममात्र नभई गाउँका कुनै पनि किसानले खेतीसम्बन्धी सीप, तालिम, बीउबिजन, सिँचाइलगायतमा सहयोग पाएका छैनन्। वास्तवमै भन्ने हो भने हाम्रो गाउँमा कृषि कार्यालयका कोही कर्मचारी आजसम्म आइपुगेकै छैनन्। उनीहरूलाई त यहाँका किसानले व्यावसायिक रूपमा आलु खेती गर्छन् भन्ने पनि थाहा छैन होला। हामीलाई खेती गर्ने नयाँनयाँ सीपको खाँचो छ। अहिलेसम्म अर्काले गरेको देखेर खेती गरिहेका छौं। हरेक वर्ष नयाँ समस्या देखापर्छ, आफ्नै बलबुता र दिमागले भ्याएको सीप लगाएर जुध्छौं।

हाम्रो गाउँमा आफ्नै बारीमा फलेको अन्नले ६ महिनासम्म खान पुग्ने परिवार थोरैमात्र छौं। आलुखेती गर्न थालेपछि खानका लागि भने अभाव भएको छैन। आलुखेतीलाई अझै व्यावसायिक वनाउन कसैले सहयोग गरिदिए हामीले बर्सैभरि सजिलैसँग अन्न खान पाउने थियौं।

गाउँमै पहिलोपटक आलुखेती सुरु गरेका कारण गाउँका अरू किसानले कुनै समस्या आउँदा सहयोग मागे आफूले जानेजति सल्लाह दिने गरेको छु। सुन्दरनाङ्गी गाउँमा आलुखेतीका लागि सबैभन्दा ठुलो समस्याका रूपमा देखापरेको रातो कमिला नियन्त्रण गर्न सहयोग पाए यस गाउँलाई आलुखेतीका लागि जिल्लामै नमुना बनाउन सकिन्छ जस्तो लाग्छ।

प्रस्तुति : केशव अधिकारी

(अन्नपूर्ण पोस्ट १४ साउन २०७० बाट)