मोटर चढेको एक मिनेटमै उनिहरुले ज्यान गुमाए

1606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,६ असार – खाना खाईवरी घरायसी धन्दा भ्याएर बजार तिर निस्कन लागेको बेला गाउँबाट आउँदै गरेको जिपमा चढेको एक मिनेट नपुग्दै कान्छी भुजेल र नानु तामाङ चढेको जिप पल्टिएर दुवै जनाको घरछेउमै अकालमै ज्यान गयो । कान्छी र नानुका लागि बैरेनी वजार टाढा थिएन अरु वेला उनिहरु हिंडेरै बैरेनी वजार नगएका पनि होइनन, घरको आँगनबाट मोटर गुड्न थालेपछि उनिहरु वजार आवत जावतमा प्राय जसो मोटर चढेर यात्रा गर्न थालेका हुन । शुक्रवार पनि बजार पुगेर फर्किहाल्ने योजनामा जिप चढेका कान्छी र नानुले घर फर्कन पाएनन, घर छाडेको एक मिनेटमै उनिहरुले ज्यान गुमाए । यो घटनालाई नजिकबाट देखेका छरछिमेक , आफन्त र गाउँलेहरु अहिले शोकाकुल भएका छन । गाउँघरमा मेलापात जानु पर्दा होस या महिला समूह, सामुदायिक वन समूहको भेला बैठकमा यि दुई महिलाको नियमित उपस्थिति हुने गर्दथ्यो ।


जिप पल्टिंदा कान्छी र नानु मात्रै होइन सोही जिप चढेर गाउँबाट वजार आईरहेका कार्कीडाँडाका सेते मिजार,राजु रम्तेल र सविता अधिकारीले पनि अकालमै ज्यान गुमाउनु परेको छ ।उनिहरु सबै जना वजार आउँदै गरेका थिए । दुर्घटनामा अन्य दश जना घाईते भएका छन् ।

शुक्रवार मध्यान्ह धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बाँजागाउँमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो । गल्छी गाउँपालिकाको कार्कीडाँडाबाट कच्ची सडक हुंदै बैरेनीवजार तर्फ आईरहेको बा १८ च ९४०८ नम्बर बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा बाटोमा लैजाँदै गर्दा ज्यान गएको हो । गाउँबाट तरकारी लिएर वजार आउँदै गरेको सो जिप घुम्तिमा एक्कासी अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटना पछि गल्छी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का वासिन्दा स्तव्ध भएका छन । एकै छिन अघि हाँस खेल गर्दै बोलेको मान्छे जिप संगै भिरबाट खसेर मृत्यु भएको देख्दा गाउँलेहरुको आँखा रसाए  । कसैले कल्पनानै नगरेको यो हृदयविदारक दृष्यले सबैलाई स्तव्ध वनाएको छ ।

घटनास्थलमै मृत्यु हुनेहरुमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु रम्तेल, सोही ठाउँका ३२ वर्षीय सेतु मिजार, गल्छी ६ की ३० वर्षीया कान्छी भुजेल र सोही ठाउँकी २५ वर्षीय नानु तामाङ रहेकी छन । त्यस्तै गल्छी गापा– ४ बस्ने बर्ष २१ की सबिता अधिकारीको उपचारको लागी काठमाण्डौतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।उनिहरु सबैजनाको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।

दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई स्थानीयले उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएका थिए । स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार पछि सबै घाईतेहरुलाई थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टर पठाईएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले वताए ।

दुर्घटनामा परि गल्छी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ६२ को विष्णु अधिकारी,बर्ष ३५ की सुनिता मिजार,बर्ष २३ की सुजिता अधिकारी, बर्ष १५ को सन्तोष रम्तेल,बर्ष ७० को कृष्ण सार्की,बर्ष २८ की रेनु भण्डारी, बर्ष ३५ को राम कृष्ण प्याकुरेल र नाम थर नखुलेका अन्य दुईजनाको समेत अबस्था गम्भिर रहेको र उनिहरु सबैको उपचार ट्रमा सेन्टरमा भईरहेको पनि प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिए ।