बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटो- बालुवा व्यवसायीलाई भ्याई नभ्याई

1609 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१४ असार-  धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटो सहितको पहिरोका कारण सवारी आवागमन रोकिन पुगेको छ । रातभरीको बर्षात कारण आएको लेदो माटोले राजमार्गको गल्छी बैरेनी खण्डमा ठाउँ ठाउँमा अवरोध पु¥याएको छ । सडक अबरुद्ध हुँदा पृथ्वीराजमार्गमा गुडिरहेका सयौँ सवारी साधन विहानै देखि रोकिन पुगेका छन् । सडकमा जमेको लेदो माटो र वालुवा निकाल्न स्थानीय वालुवा व्यवसायीहरुले भागवण्डा लगाएर काम शुरु गरेका छन् । वालुवा र माटो छान्दै निकाल्दा सडक ४ घण्टा भन्दा बढी अबरुद्ध हुने अवस्था रहेको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा ठाउँ ठाउँमा बालुवा र माटोको लेदो बगेर आएपछि सडक अबरुद्ध हुन पुगेको बैरेनी वजारका स्थानीय वासिन्दा नरेश खतिवडाले वताउनु भयो । सडकमा जमेको लेदोले सवारी आगमन ठप्प हुन पुगेको छ । अबरुद्ध सडक खुलाउन प्रयास भईरहेको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले वताउनु भयो ।
लेदो माटो र ढुंगा थुप्रिंदा सडक नदीको बगर जस्तै हुन पुगेको छ । सडक जलमग्न भएपछि सवारी साधनहरु ग्ड्न समेत सकेका छैनन् । देशका मुख्य मार्ग हुंदै राजधानी प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको पृथ्वीराजमार्ग अबरुद्ध हुंदा हजारौं व्यक्ति प्रभावित हुने गर्दछन् । मंगलबार पनि यहि ठाउँमा पहिरोका कारण ११ घण्टा सम्म सडक अबरुद्ध हुन पुगेको थियो । बिहीवार पनि हजारौं यात्रु बिच बाटोमै अलपत्र परिरहेका छन् । सडकमा खसेको लेदो माटो र वालुवा निकाल्न स्थानीय व्यवसायीले क्षेत्र तोकेर डोजरको प्रयोग गरिदिंदा सडक खुलाउन ढिलाई भईरहेको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले वताउनु भयो ।

देश विदेशका यात्रुलाई सडकमा अलपत्र पारेर वालुवा निकाल्ने काम तत्काल वन्द गरि सडक तत्काल सफा गर्ने कार्यमा लाग्न प्रहरी प्रशासन र सडक विभागलाई आग्रह गरिएको नेपालले जानकारी दिनु भयो । अहिले सडक खुलाउने प्रयास भईरहेको र आवागमन नियमित हुन अझै ३,४ घण्टा भन्दा बढी लाग्ने प्रहरीले जानकारी दिएको छ ।

राजमार्ग भन्दा माथि तिर बाताबारणिय प्रभाव मुल्याङ्कन नगरि हचुवाको भरमा खोलिएका ग्रामीण सडकका कारण बर्षा संगै भलबाढी राजामार्गमा आईपुग्ने गर्दछ । गाउँ गाउँमा करोडौं खर्च गरेर सडक निर्माण गरिनुका साथै बालुवाका लागि डाँडापाखा उत्खनन समेत गरिएका छन् । ग्रामीण सडक र वालुवा उत्खनन स्थलबाट बर्षात संगै माटो वग्दै आएर राजमार्ग अबरुद्ध हुन पुगेको हो ।