सदरमुकाममा दिन दहाडै चोरी गर्ने टोली पक्राउ

1798 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ साउन –  केही समय यता धादिङ सदरमुकाम धादिङबेसीका पसलहरुबाट दिन दहाडै मोवाईल तथा अन्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ एमालेचोकका चोकनारायण श्रेष्ठले असार ९ गते आफ्नो मोबाइल हराएकोले जिल्ला प्रहरी कार्यालय धादिङमा खोजी गर्न निवेदन दिएका थिए । श्रेष्ठको निवेदन र प्रहरीको सूचनाको आधारमा चोरीमा सम्लग्न समूहनै पक्राउ परेको हो ।

प्रहरीले नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षिय निशान सुन्दासलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । प्रहरीले एमाले चोकमा डेरा गरि बस्ने निसान सुन्दासको कोठामा चोरी गरेको मोवाइल र सामानहरु राख्ने गरेको सूचनाको आधारमा निजको कोठामा छापा मारेको थियो ।

घर घरमा गएर मोवाइल, गहना, कचौरा लगायतका सामाग्री चोरी गर्दै आएको सो समूहलाई नियन्त्रणमा लिई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

पक्राउ परेको व्यक्तिहरुबाट बिभिन्न ब्राण्डका १२ थान मोबाइल, २ वटा खुकुरी, २ वटा ढलौटको लोटा, १४ ओटा ढलौटको कचौरा, चोरी गर्नमा प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मंगलसुत्र र माला उनिहरुको साथबाट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनु भयो ।

तीनजनाको समूह मिलेर चोरी गर्ने बेलामा एकजनाले बाहिरी वातावरण हेर्ने, २ जना घरभित्र पसेर चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको र धारिलो हतियार नै बोकेर हिडेको समूह भएकोले उनिहरुबारे थप अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक बैदवारले वताउनु भयो ।