धादिङमा नदी र खोलामा मेशिन लगाए कारवाही हुने

1441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१५ साउन –  धादिङका विभिन्न खोला र नदीमा मेशिनको प्रयोग गरेर भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानका खोलामा अवैधरूपमा उत्खनन बढ्दै गएको जनगुनासो आएपछि मंगलबार धादिङमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।

 बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर नदीजन्य सामग्री उत्खननमा रोक लगाउने सहमती जनाएका थिए । समितिले विगतमा पनि यस्ता गलत कार्य नगर्न सम्वन्धित पक्षलाई सचेत गराईरहेको भएपनि नियन्त्रण हुन नसकेकाले अब सुरक्षाकर्मी परिचालन गरेर कडाइका साथ कारवाही गरेर नियन्त्रण गर्ने निर्णय भएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले जानकारी दिए । प्रमुख नेपालका अनुसार हेभी उपकरण प्रयोगमा पूर्ण बन्देज गरिएको छ भने, मानिसमार्फत साबेल लगाएर भइरहेको उत्खनन र त्यसको ओसारपसार दिउँसोको समयमा मात्र गर्न दिने निर्णय भएको छ ।

बैठकमा गल्छी र गजुरी गाउँपालिकाको प्रतिनिधित्व नहुनुलाई बैठकमा सहभागीहरुले गैर कानूनी तबरबाट वालुवा उत्खनन भईरहेका स्थानीय तहले जिल्ला अनुगमन समितिलाई अटेर गरेको गुनासो गरेका थिए । अवैधरूपमा नदी र खोलाबाट बालुवा उत्खननमा तस्करीको संलग्नताले नदीको प्रवाह परिवर्तनदेखि आपराधिक क्रियाकलापको समेत वृद्धि भएकाले त्यसलाई रोक्न प्रशासन कडाईका साथ उत्रने समितिका सदस्य समेत रहेका धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले वताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले मजदुर लगाएर हुने उत्खननको आडमा भइरहेको अवैध कार्य नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरेर अबैध कार्यमा संलग्न मेशिन नियन्त्रणमा लिई जरिवानाका लागि समन्वय समितिमा बुझाउने काम भईरहेको र अबैध भन्दा पूर्ण नियन्त्रणमा ल्याउन सरोकारवाला पक्ष सबैबाट सहयोगको खाँचो रहेको वताएका थिए ।

असारदेखि भदौसम्म (तीन महीना) हेभी उपकरण (स्काभेक्टर) प्रयोग गरेर नदीजन्य सामग्री (रोडा, ढुङ्गा, बालुवालगायत) उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ । स्थानीय तहले पनि नदीजन्य सामग्रीको उत्खननका लागि करको ठेक्का लगाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)मा यो तीन महीना उत्खनन नगर्ने शर्त उल्लेख गर्दै आएपनि बर्षेनी बढाबढमा निकासी करको ठेक्का लगाईदिंदा अबैध उत्खननले प्रश्रय पाउने गरेको हो ।


बर्खायाम शुरु भएसँगै जिल्लाको बेल्खु, दरियाँल, मलेखु, महेश, कोल्पु र आँखु खोलाका साथै त्रिशूली र बुढीगण्डकी नदीमा हेभी उपकरण लगाएर अवैधरूपमा नदीजन्य उत्खनन कार्य भईरहेको छ । खोलामा मेशिन प्रयोग गरेर स्थानीयको रोजीरोटी खोसिएको भन्दै सोमबार गजुरी गाउँपालिका वडा नम्बर ६ का स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए । एक साता भित्र दरियाँल खोलाबाट दुईवटा स्काभेटर नियन्त्रणमा लिएर जरिवाना सहित छाडिएको जिल्ला प्रहरीले जनाएको छ ।