प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते काठमाडौँमा

985 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली काँग्रेस समर्थित पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ ।युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

युनियनले हालसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । युनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा रहेको महासचिव शिवाकोटीले जानकारी दिनु भयो ।

यसैगरी बैठकले युनियनको केन्द्रीय सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा। सुरेश आचार्य, युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समीरजङ्ग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले दुवै मिर्गौला फेल भई उपचाररत युनियनका ललितपुर शाखा संस्थापक अध्यक्ष बटुकृष्ण कार्कीको उपचारका लागि सक्दो सहयोग गर्न सबै शाखाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।महाधिबेशनको निर्णय संगै प्रेस यूनियन भित्र नयाँ चहल पहल शुरु भएको छ । अबको नेत्तृत्व कसरी चयन गर्ने र आफ्नो पद कसरि सुरक्षित गर्ने तर्फ युनियनका नेताहरु सक्रिय हुन थालेका छन् ।