दरिङाल खोलामा दुई युवक डुवेपछि तीनवटा स्काभेटरमा आगजनी

2259 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २५ साउन –  नदी तथा खोलामा मेशिन प्रयोग गरेर बालुवा उत्खनन गर्न रोक लगाईएको भएपनि प्रहरी प्रशासनको आँखा छल्दै धादिङमा बालुवा तस्करहरुले मेसिनको प्रयोग गरिरहेका छन ।

खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ ठुलिफाट दरिङाल खोलामा शनिवार बिहान १० वजे तिर दुई जना युवाको ज्यान गएको छ । मेशिनले वनाएको खाल्डोमा डुवेर दुई जनाको ज्यान गएपछि आक्रोशित स्थानीयले खोलामा रहेको तीनवटा स्काभेटरमा आगजनी गरिदिएका छन ।

खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका वडा नम्बर ७ का १९ बर्षका भिम तामाङ र २१ बर्षका सुमन तामाङ शनिवार बिहान  १० वजेतिर पौडि खेल्न जाँदा खोलामा डुवेका थिए । उनिहर संगै पौडी खेल्न गएका अरु दुई जना भने पौडिएर वाहिर निस्कन सफल भएका छन् । खोला गहिरो बनाएर खनेका कारण दुवै जना खाडलमा फसेर ज्यान गएको स्थानीयले वताए । देख्दा देख्दै दुई जना युवाको अकालमा ज्यान गएपछि आक्रोशित हुन पुगेका गाउँलेले तीनवटा स्काभेटरमा आगजनी गरि क्षती पु¥याईदिएका छन ।अबैध दोहनमा संलग्न भएकाहरु माथि कारवाही र खोलामा धराप वनाएर सर्वसाधरणको ज्यान गएको घटनाको छानविन गरि दोषि माथि उचित दण्ड सजायँ र मृतकका आश्रित परिवारलाई क्षतीपुर्तिको माग राख्दै स्थानीयले खोलाबाट शव निकाल्न दिएका छैनन ।

स्थानीयले पटक पटक खोलामा मेशिन नलगाउन दवाव दिंदै आएपनि बालुवा तस्करहरुले रातीको समय पारेर गहिरो खाडल बनाई बालुवा निकाल्दै आईरहेको स्थानीयबासीको बताउँछन ।

यस अघि दरियाँल खोलामा गैर कानूनी ढंगबाट सञ्चालन गरिएका तीन वटा मेशिन स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । जिल्ला समन्वय समितिले एउटा मेशिनलाई ५० हजार जरिवाना गरेको भएपनि अरु मेशिन भने स्थानीय तह र प्रहरी प्रशासनको मिलेमतोमा जरिवाना नभई छुटेका थिए ।

एक साता अघि यहाँका स्थानीयले सदरमुकाम धादिङबेसी पुगेरै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई भेटेर खोलामा मेशिन लगाउन रोकि दिन आग्रह समेत गरेका थिए । घटनाको जानकारी आएपछि घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । आक्रोशित भिडले खोलामा रहेका सबै मेशिन जलाउने चेतावनी दिएपछि थप क्षती हुन नदिन इलाका प्रहरी कार्यालय गजुरीबाट घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

  • तस्बिर : पत्रकार बिक्रम अधिकारीबाट