नाडेपका कर्मचारी दुई साता देखि आन्दोलनमा

2035 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१ भदौ-  धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । दुई साता देखि जारी आन्दोलनका कारण संस्थाको दैनिक गतिविधि प्रभावित हुन पुगेको छ ।संस्थामा कार्यरत कर्मचारीलाई नियमानुसार सेवा सुविधा र पारिश्रमिक बृद्धि गरिनु पर्ने अस्थायी तथा करार कर्मचारीलाई प्रकृया पुरा गरि स्थायी गरिनु पर्ने लगायतका माग राखी कर्मचारीले दुई साता देखि संस्थाको केन्द्रिय कार्यालय गजुरीमामा धर्ना बसेर आन्दोलन गरिरहेका छन ।
कर्मचारी आन्दोलनका कारण संस्थाको केन्द्रिय कार्यालयको दैनिक काम प्रभावित हुन पुगेको छ । नाडेप कर्मचारी संघको आव्हानमा भएको आन्दोलनलाई साथ दिंदै कर्मचारीहरु केन्द्रिय कार्यालयको मुलगेटमा बसेर धर्ना दिईरहेका छन । कर्मचारीले राखेको माग पुरा हुन नसक्दा व्यवस्थापन र कर्मचारीहरु बिच दुरी बढ्दै गएको छ ।
कर्मचारीहरु केन्द्रिय कार्यालयमा जम्मा भएर आन्दोलनमा उत्रिएपछि निकासका लागि संचालक समिति संग छलफल गर्न संस्थाका प्रमुख कार्यकारी अधिकृत उपेन्द्रवहादुर कार्की साउन २४ गते देखि केन्द्रिय कार्यालयमा अनुपस्थित रहेपछि कर्मचारीहरु आक्रोशित हुन पुगेका छन । आन्दोलनमा रहेका कर्मचारीहरुले सबै तहका कर्मचारीको तलब भत्ता ५० प्रतिशत बृद्धि गर्नुपर्ने, कार्यालय सहायकको तलव नेपाल सरकारको स्केल अनुसार हुनु पर्ने,कर्मचारीले प्रयोग गरिरहेको सवारी साधनको करकट्टी,ह्रास कट्टी तथा नविकरणको रकम फिर्ता गरिनुपर्ने लगायतका १३ वटा माग राखेर कर्माचारीहरु आन्दोलनमा रहेको कर्मचारी संघका नेता पशुपति दहाल दासिले जानकारी दिनुभयो ।


कर्मचारीको आन्दोलनका कारण दैनिक कामकारवहाी प्रभावित हुन पुगेकाले व्यवस्थापन र कर्मचारी बसेर छिट्टै समस्या समाधानको उपाय खोजी गरि निकास निस्कनेमा आंफु ढुक्क रहेको संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत अमृत रुपाखेतीले वताउनुभयो ।

धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस लघुवित्तले ४६ जिल्लामा ८ वटा इलाका कार्यालयहरु तथा ७८ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत ८० हजार घरधुरीमा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।गत आवको १५ प्रतिशत बोनस पश्चात ३६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो । कर्मचारी आन्दोलनका कारण गत आर्थिक बर्षको लघुवित्तको चौंथो त्रैमासिक प्रतिवेदन तथा बार्षिक प्रतिवेदन तयार पार्न नसकिएको पनि संस्थाले जानकारी दिएको छ ।
यसैबिच आन्दोलनरत कर्मचारी र व्यवस्थापन पक्षका बिच आईतबार दिउँसो काठमाण्डौंमा वार्ता शुरु भएपनि पहिलो दिनको वार्ता निष्कर्ष विहिन अवस्थामा टुंगिएको संघर्ष समितिले जनाएको छ । वार्तामा कर्मचारीको तर्फबाट वार्ताटोली संयोजकमा विपिन कार्की र सदस्यहरु बद्रिप्रसाद नेपाल र पुरुषोत्तम आचार्यको सहभागिता रहेको छ भने व्यवस्थापन समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्रवहादुर कार्की,कम्पनीका सचिव बाबुराम सुवेदी र सहायक प्रमुख कार्यकारी अधिकृत एसपि आचार्य वार्ताटोलीमा रहेको र सोमबार ११ वजे बाट वार्ता शुरु हुने संघर्ष समितिले जनाएको छ ।