संविधान दिवसमा लगाउने राष्ट्रिय झण्डा अंकित टिसर्ट सार्वजनिक

1155 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २१ भदौ – यस पटकको संविधान दिवस कसरी मनाउने सोच राख्नु भएको छ । तपाईको सोच जे जस्तो भएपनि संविधान दिवस मनाउनका लागि लगाउने टिसर्टको नमूना भने अब देशैभरी एकैखालको हुने भएको छ । संविधान दिवसलाई भव्य रुपमा मनाउन आम नागरिकलाई आग्रह गरिरहेको गृह मन्त्रालयले संविधान दिवसका दिन लगाउने राष्ट्रिय झण्डा अंकित टिसटको नमूना सार्वजनिक गरेको छ ।

यस बर्षको संविधान दिवस भब्य रूपमा मनाउने घोषणा गरेको सरकारले राष्ट्रिय झण्डा अंकित टिसर्टका नमूना सार्वजनिक गरेको हो ।
नेपालको संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने तयारी नेपाल सरकारको छ ।
राष्ट्रिय झण्डाको प्रयोग बढाउन संविधान दिवसका दिन राष्ट्रिय झण्डा अंकित टिसर्ट छापेर प्रयोग गर्न गृह मन्त्रालयले  विभिन्न साइजका टिसर्टका नमूना सार्वजनिक गरेको जनाएको छ ।
गृहले सार्वजनिक गरेको टि(सर्टमा राष्ट्रिय झण्डालाई मुटुको माथि पर्ने गरी डिजाइन गरिएको छ । टि सर्टको तीन वटा प्रकारमा कल्दर र बाहुलामा निलो रङ र अन्यत्र सेतो रङ रहनेछ भने एउटामा भने सबैतिर सेतो रङ मात्रै रहनेछ ।

गृह मन्त्रालयले वेवसाइटमा राखेको सूचनाअनुसार राष्ट्रिय झण्डा अंकित टि(सर्ट संविधान दिवस, राष्ट्रिय दिवसमा प्रयोग गरिन्छ । यस्तै गृहले औपचारिक कार्यक्रममा राख्नका लागि राष्ट्रिय झण्डाका पाँच प्रकारका साइज पनि सार्वजनिक गरेको छ।