पहिचानका लागि हिन्दुराष्ट्र -राप्रपा बरिष्ठ उपाध्यक्ष तामाङ

2625 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -नेपालको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङले वताउनु भएको छ । राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापनाको एजेण्डा लिएर तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा अभियानमा जुटेको राप्रपाको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृह जिल्ला धादिङ आउनु भएका नेता तामाङले बुधवार सदरमुकाम धादिङबेसीमा पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो ।राप्रपाले अहिलेको संविधानलाई स्विकार गरिसकेकाले संविधानको मर्मलाई आत्मसाथ गर्दै जनताको बिचमा पार्टीको एजेण्डाको रुपमा हिन्दुराष्ट्र सहितको राजसंस्था स्थापनाको एजेण्डा लिएर आएको उहाँले बताउनु भयो ।

मुलुक धर्म निरपेक्षमा गईसकेको भएपनि करिव ८० प्रतिशत जनसंख्या ओमकार समुदाय (हिन्दु र वौद्धधर्मावलम्बी) भएको जिकिर गर्दै नेपालमा हिन्दुराष्ट्र अपरिहार्य भएको नेता तामाङले दावी गर्नु भयो । संसारमा हिन्दु धर्ममान्नेहरुको संख्या धेरै भएपनि हिन्दुधर्म सहितको देश नभएकाले नेपालमा त्यो सम्भावना भएकोले राप्रपाले स्पष्ट दृष्टिकोणका साथ आफ्नो एजेण्डा अघि सारेको नेता तामाङले वताउनु भयो ।

राप्रपा पुरानै शैलीको राजतन्त्रको पक्षमा नरहेको तर हिन्दु धर्मको प्रतिकका रुपमा रहने राजाको पक्षमा भने रहेको उहाँले वताउनु भयो । कुनै बेला नेपाल राष्ट्र निर्माणमा राजसंस्थाको भूमिका महत्वपूर्ण रहेको कुरालाई भुल्न नहुने तर पहिलेकै जस्तो राजसंस्था चाहिन्छ भन्नु अव उचित नहुने उहाँको भनाई थियो ।
जापान, वेलायत लगायत विश्वका ४० भन्दा बढि राष्ट्रमा अहिले पनि राजसंस्था रहेको स्मरण गराउँदै नेता तामाङले नेपालमा पनि राजसंस्था चाहिन्छ भनेर जनताका बिचमा छलफल शुरु गरेको जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा वोल्दै नेता तामाङले संघीयतामा जांदा गाउँका जनताले गाउँमै धेरै सुविधा पाएपनि प्रदेशको संरचनाले राज्यको ठूलो धनराशी खर्च बढाईरहेकाले स्थानीय तहलाई अझै वलियो बनाएर प्रदेश हटाउनु पर्ने सुझाव दिनु भयो ।

राप्रपाले २०७६ साललाई संगठनको बर्षको रुपमा विभिन्न कार्यक्रम गरेर पार्टीको गतिविधि गाउँ गाउँमा संगठन बिस्तार र कार्यकर्ता जागरण अभियान संचालन गरिने नेता तामाङले वताउनु भयो । राप्रपाका जिल्ला अध्या नवराज श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सो पार्टीका सहमहामन्त्री भक्ति सिटौला, केन्द्रिय सदस्य एवम पुर्व मन्त्री परशुराम तामाङ, केन्द्रिय सदस्यहरु लालध्वज तामाङ,सहदेवराज भारती, गिताप्रसाद आचार्य ३ नम्बर प्रदेश समिति सदस्य राजनप्रसाद शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।