धादिङ अस्पताललाई प्रदेश सरकारको एक करोड २५ लाख अनुदान

1356 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २८ भदौ – प्रदेश नं ३ सरकारले धादिङ जिल्ला अस्पतालकाका साथै ३ नम्बर प्रदेशका आठ वटा सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि नौ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढे संगै धादिङ जिल्ला अस्पताले एक करोड २५ लाख रुपैयाँ अनुदान पाउने छ ।

प्रदेश भित्रका जिल्ला अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न गराउने लक्ष्यसहित सो कार्यक्रम सञ्चालन गरिएको प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले बताइएको छ । जिल्लाका अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षदेखि यो कार्यक्रम ल्याइए पनि कार्यान्वयन भने चालू आर्थिक वर्षबाट हुन लागेको हो ।

आव २०७६÷७७ को वजेट मार्फत भक्तपुर अस्पताललाई रु एक करोड ५० लाख, हेटौँडा अस्पताललाई रु एक करोड ५० लाख, त्रिशूली अस्पताल नुवाकोटलाई रु एक करोड २५ लाख, चौतारा अस्पताल सिन्धुपाल्चोकलाई रु एक करोड, धादिङ अस्पताललाई एक करोड २५ लाख, रामेछाप अस्पताललाई रु एक करोड, रसुवा अस्पताललाई रु ७५ लाख र सिन्धुली अस्पतालाई रु एक करोड २५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो योजना प्रदेश नं ३ सरकारको नीति तथा कार्यक्रममा नै समावेश भएकाले प्रदेश सरकारले यस कार्यलाई विशेष महत्वको योजनामा राखेको ३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताउनु भयो ।

अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत विनियोजन गरिएको बजेटबाट सम्बन्धीत अस्पतालले आवश्यक औजार उपकरण खरीद तथा अन्य पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन तथा सङ्क्रमण रोकथाम कार्यक्रम, र भौतिक संरचना उपकरण सहितका विकास निर्माण कार्यक्रममा खर्च गरिने सो मन्त्रालयले जनाएको छ । रासस