धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

2065 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको संविधान दिवस भव्यताका साथ मनाउनका लागि २०७६ भाद्र २५ गते जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा बैठक बसेको छ । वैठकले दिवस मनाउनका लागि १५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

‘‘संविधान दिवस तथा राष्ट्रिय दिबस हर्षोल्लासका साथ मनाऔं । घर घरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दिपावली गरौं’’ भन्ने मूल नाराका साथ असोज २, ३ र ४ गते सरकारी र गैरसरकारी कार्यालय तथा संस्था र जनताको घरघरमा साँझ दिपावली गर्ने र गर्न भनी अनुरोध गर्ने निर्णय भएको छ ।

असोज २ गते जिल्ला बार एशोसियशनको समन्वयमा संविधान र राष्ट्रभक्ति सम्वन्धी बिचार गोष्ठीको आयोजना गर्ने मूल समारोह समितिले निर्णय गरेको छ । ३ गते बिहान ७ वजे पुछारबजारबाट प्रभातफेरी शुरु गरि बीचबजार हुंदै ,रेडक्रस चोक ,खुल्लामञ्च, प्रशासन चोक हुंदै कभर्ड हलमा गएर औपचारिक कार्यक्रम गरेर समापन गर्ने निर्णय भएको छ ।

असोज २ गते गैर सरकारी संस्थाहरु मार्फत साँझ ६ वजे जिल्लाका मुख्य बजार चोकहरुमा दिपावली गर्ने निर्णय भएको छ । त्यस्तै वर्तमान संविधानको बारेमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम असोज २ गते बार एशोसिएसन धादिङले गर्ने निर्णय भएको छ । जिल्लाका विद्यार्थीहरु लक्षित वक्तृत्वकला प्रतियोगिता शिक्षा विकास तथा समन्वय इकाइले गर्ने निर्णय गरिएको छ ।

यसै गरी जिल्ला स्थित सबै कार्यालयहरुले असोज २, ३ र ४ गते आफ्नो कार्यालय परिसर सरसफाई गर्ने सांझ अनिवार्य रुपमा दिवापली गर्ने, कार्यालयमा राष्ट्रिय झण्डा फहराउने र ति कार्यहरुको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गर्ने निर्णय भएको छ ।

धादिङ जिल्ला खेलकुद विकास समिति धादिङ मार्फत असोज ३ गते खेलकुद कार्यक्रमको आयोजना गरिने भएको छ । यसै गरी जिल्लाका स्थानीय तहमा पनि संविधान दिवस मूल समारोह समिति गठन गरिएका छन । स्थानीय तहस्तरीय मुल समारोह समितिले पनि विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाउने भएका छन् ।