नौबिसे-कलंकी सडक एकतर्फी गराएर मर्मत शुरु

1359 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । सर्वाधिक सवारी चाप रहने गरेको देशका करिव ७० जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने मुख्य सडक मार्गको नौविसे नागढुंगा सडक खण्डमा केही समय सवारी आवतजावतमा फेरि समस्या हुने भएको छ ।

धादिङको नौबिस देखि काठमाण्डौंको कलंकी सम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर मर्मत गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मंगलबारबाट सुरु भएको सडक मर्मत कार्यका कारण सवारी आवागमनमा केही समय अवरोध आउने पनि प्रहरी महाशाखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारका अनुसार निर्माण कम्पनीका प्रतिनिधिलाई लामो समय सवारी आवामगन नरोक्न र सवारी चापलाई ध्यानमा दिएर काम अघि बढाउन अनुरोध गरिएको वताउनु भयो ।

सडक विभागले पनि नौबिसे कलंकी सडकखण्डमा दशैं अघि शुरु गरिएको मर्मतको काम अहिले पनि जारी रहेको जनाएको छ । अहिले यो सडक खण्डमा बिग्रेको ठाउँमा बनाउने, पिच उप्केको टाल्ने जस्ता भइरहेको छ । सडक मर्मत अवधिभर नौविसे नागढुंगा सडक खण्डमा केही समय एकतर्र्फी मात्र सवारी सञ्चालन हुनेछ ।

विभागका अनुसार सडक मर्मत कार्य मंसिरसम्म नै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
महानगरीय ट्राफिक प्रहरी अनुसार बिहान ९ बजेदेखि कंलकी–थानकोट सडकखण्ड (ढुंगेअड्डामा) र दिउँसो १ बजेदेखि नागढुंगा–नौबिसे सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गरेर मर्मतको काम हुनेछ । ट्राफिक प्रहरीले उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गर्न सडक प्रयोगकर्तालाई आग्रह समेत गरेको छ ।

गत ५, ६ र ७ असोजमा दसैंका लागि यातायात सहज आवातजावत होस् भनेर दैनिक १ घण्टा एकतर्फी सवारी रोकेर खाल्टा परेका ठाउँमा कालोपत्रे शुरु गरिएको थियो ।केही दिन असहज भएपनि सडक मर्मतपछि भने दुवैतर्फ निर्वाध रुपमा सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने प्रहरी महाशाखाले जनाएको छ ।