धादिङका आठ सामुदायिक बिद्यालयमा आईटि ल्याव स्थापना हुंदै

2394 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,३ कात्तिक- सरकारले साढे ३ अर्ब रुपैयाँ खर्च गरेर धादिङका ८ सहित देशभरका १ हजार विद्यालयमा सामुदायिक सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना गर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट रकम खर्चिने गरी ७७ वटै जिल्लाका समुदायिक विद्यालयमा सरकारले आईटी ल्याब स्थापना कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

परियोजना अन्तर्गत प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा १० देखि २४ ओटासम्म कम्प्युटर, दुई हार्ड डिस्क, प्रोजेक्टर, मल्टिफङ्सनल प्रिन्टर, साउन्ड सिस्टम, यूपीएस, चार थान ब्याट्री र नेटवर्किङ तथा इन्टरनेट सहितको आईटी ल्याब स्थापना गरिने छ । यसका लागि दूरसञ्चार प्राधिकरणले ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान सहित २०७५ जेठ २ मा टेन्डर आह्वान गरेको थियो ।

कार्यविधि र मन्त्रालयको सिफारिसकै आधारमा आईटी ल्याब स्थापनाका लागि विद्यालयको छनौट गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको दाबी छ । ‘सुरुमा ७९२ विद्यालयमा आईटी ल्याब स्थापना गर्ने भनिएपनि पछि आएर मन्त्रालयको नीतिगत निर्णयबाट २ सय ८ विद्यालय थप गर्दै एक हजार विद्यालयमा आईटी ल्याब स्थापना गर्न लागिएको हो ।

जिल्लामा एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भए ६ वटा र दुई वटा निर्वाचन क्षेत्र भएमा प्रति निर्वाचन क्षेत्र ४ वटाका दरले धादिङ जिल्लामा ८ वटा बिद्यालयमा आईटि ल्याव स्थापना हुन लागेको हो ।

धादिङ जिल्लामा आईटि ल्याव स्थापना हुन लागेका बिद्यालयहरुमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट डोलभन्ज्याङ मावि गजुरी,शंखादेवी मावि वेनिघाटरोराङ,नलाङ पात्ले मावि सिद्धलेक र केवलपुर हरिहर भोजकुमारी मावि थांक्रे रहेका छनु । यसै गरी क्षेत्र नम्बर २ बाट निरन्जना मावि नेत्रावती डवजोङ, सल्यानटार मावि र महेन्द्रोदय मावि त्रिपुरासुन्दरीका साथै सालवास मावि ज्वालामुखी रहेका छन ।

सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि ,२०७५ को परिच्छेद ३ अनुसार सूचना प्रविधि प्रयोगशाला स्थापनाको मापदण्ड तोकिएको भएपनि काभ्रे जिल्लामा भने मापदण्ड विपरित ९७ वटा बिद्यालयमा आईटि ल्याव सिफारिश भएपछि अन्य जिल्लाले विरोध जनाएका छन । कार्यविधि अनुसार काभ्रे जिल्लामा ८ वटा बिद्यालयमात्रै सिफारिश हुने पर्ने थियो ।