ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

1118 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार भएका धादिङका २ जना अभियुक्तलाई १७ बर्ष पछि पक्राउ गरेको छ ।

भारतीय सेनामा कार्यरत जिल्लाको खनियाबास गाउँपालिका वडा नम्बर ३ दार्खाका पर्शुराम तामाङ दशैं तिहार मनाउन घर विदामा आएको बेला २०५९ साल कात्तिक २९ गते सांझ ५.३० वजेको समयमा  गोम लामा तामाङ र सुकलामा तामाङलगायतले हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्धामा कारवाही गर्न प्रहरीमा जाहेरी परेपछि उनिहरु फरार रहँदै आएका थिए । १७ बर्ष देखि फरार रहेका उनिहरुलाई  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि)ले पक्राउ गरेको हो ।

काठमाडौँमा लुकिछिपी बसिरहेको सूचनाको आधारमा धादिङ प्रहरीको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई आईतबार काठमाण्डौंबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । उक्त घटनामा संलग्न भनिएका अन्य ४ जना अझै अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ । अभियुक्तहरुले तामाङलाई घाइते बनाएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । मृतक पर्शुरामकी श्रीमती छन्दर तामाङको जाहेरीका आधारमा प्रहरीले अभियुक्तहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवारले वताउनु भयो ।