रणबहादुर शाही सहित तीन जना कारागार चलान

1199 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला प्रहरी कार्यालय धादिङले तिव्र पारेको छ ।

सोही अभियान अन्तरगत चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट २०७५ मंसिर २० गते भएको फैसला बमोजिम जनही १ महिना कैद र ७२ हजार जरिवाना तोकिएपछि फरार रहँदै आएका जिल्लाको सिद्धलेक गा.पा.वडा नंम्बर ४ ( साविकको सलाङ गा.वि.स.वडा नं.८ ) बस्ने वर्ष ५० को रणबहादुर शाही र सोही ठाउँका वर्ष ४० को दिप बहादुर शाही पक्राउ परेका छन ।

शाहीद्धयलाई कात्तिक २६ गते मंगलबार पक्राउ गरी प्रहरीले धादिङ जिल्ला अदालत समक्ष पेश गरेकोमा कैद भुक्तानको लागी अदालतले आदेश दिएपछि उनिहरुलाई धादिङ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यसै गरि सवारी ज्यान मुद्दामा मिति २०७५ मंसिर २ गतेको धादिङ जिल्ला अदालतको फैसलाबाट २ वर्ष कैद र २ हजार जरिवाना ठहरी फैसला भएका मुद्दामा फरार रहँदै आएका साविक सलाङ गा.वि.स. वडा नंम्बर ८ हाल सिद्धलेक गा.पा.४ बस्ने २८ बर्षिय प्रदिप थपलिया कात्तिक २६ गते मंगलबार पक्राउ परेका छन् । थपलियालाई प्रहरीले मंगलबारनै धादिङ जिल्ला अदालत समक्ष पेश गरेकोमा उक्त कैद भुक्तानको लागी अदालतको आदेशले कारागार धादिङ चलान भएको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले वताउनु भयो ।

त्यसै गरी सवारी ज्यान मुद्दामा मिति २०७५ मंसिर १३ गते जिल्ला अदालत धादिङबाट भएको फैसला बमोजिम २ हजार जरिवाना तोकिएका साविक कुम्पुर गाविस वडा नंम्बर ३ हाल सिद्धलेक गा.पा.७ बस्ने बर्ष ५१ को भिमसेन माझी पनि मंगलबार पक्राउ परेकोमा तोकिएको जरिवाना तिरेपछि उनि छुटेका छन ।