नीलकण्ठ नगरप्रमुख ढुङ्गानालाई सर्वोच्च अदालतको झापड

2101 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-राजनैतिक पुर्वाग्रह राखेर शिक्षकहरुलाई अपायक सरुवा गर्दै आएको नीलकण्ठ नगरपालिकाको गैर कानूनी कार्यलाई सर्वोच्च अदालतले अंकुश लगाईदिएको छ ।

भैरवी माध्यमिक विद्यालय सुनौलावजारका शिक्षक दिपक श्रेष्ठले नीलकण्ठ नगरपालिकाको शिक्षा समितिको बिरुद्धमा दायर गर्नुभएको मुद्धामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नगरपालिकाको कार्यशैली माथि प्रश्न चिन्ह खडा गरिदिएको हो ।

भैरवी माविका शिक्षक श्रेष्ठलाई २०७६ साल जेष्ठ ७ गते नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले जवरजस्ती सरस्वती आधारभूत विद्यालय नीलकण्ठ ६ मा काजमा सरुवा गराएको थियो । शिक्षा समितिको माइन्युटको उपस्थितिमा हस्ताक्षर गर्न लगाइ नगर प्रमुख ढुंगानाले एकलौटी निर्णय लेखेर राजनैतिक पूर्वाग्रहको आधारमा नगरपालिकाकै शिक्षा नियमावली र संघीय सरकारको प्रचलित शिक्षा ऐन कानून को बर्खिलाप गर्दै आँफुलाई अपायक सरुवा गराईएको भन्दै शिक्षक श्रेष्ठ न्याय खोज्दै सर्वोच्च अदालत पुगेका थिए ।

शिक्षक श्रेष्ठले दायर गरेको रिट निवेदन माथि मङ्सिर ५ गते सर्वोच्च अदालतका न्यायधिशद्धय हरिकृष्ण कार्की र तेजवहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै नीलकण्ठ नगरपालिकाको शिक्षा ऐन राजपत्रमा प्रकाशित नभएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उप दफा ५ अनुसार कानुन लागु हुन नसक्ने भएकाले नगर शिक्षा समितिले गरेको निर्णय कानुन अनुसार नभएको ठहर गरेको हो । सरुवा गरिएका शिक्षकको दरबन्दी समेत पठाउन नसक्ने अवस्था भएकाले शिक्षकलाई कता हाजिर हुने भन्ने अन्यौलताका साथै रोजगारीमा समेत गम्भीर असर परेकाले मिति २०७६/०२/०७ र मिति २०७६/०५/१० को निर्णय यथावत राखी मुद्धाको अन्तिम किनारा नलागे सम्म शिक्षक श्रेष्ठलाई पूर्ववत चलिरहेको विद्यालयमै हाजिर गराउन अन्तरिम आदेश जारी गरेको छ ।

नीलकण्ठ नगरपालिका शिक्षा शाखाका अधिकृत केदारप्रसाद ढकालको योजनामा नगरप्रमुख ढुंङ्गानाले राजनैतिक आस्थाका आधारमा शिक्षकहरुको अपायक सरुवा, नयाँ शिक्षक भर्नामा राजनैतिक भर्तिकेन्द्र बनाई योग्य व्यक्तिलाई सेवा प्रवेशमा रोक लगाएको आरोप लाग्दै आएको छ ।

भैरबी माविमा नगरप्रमुख ढुङ्गाना र शिक्षा अधिकृत ढकालले चाहेको व्यक्तिलाई प्रधानाध्यापक बनाएर बिद्यालयलाई राजनैतिक चलखेलको केन्द्र वनाउन शिक्षक श्रेष्ठलाई अपायक सरुवा गरिएको भन्दै त्यहाँका अभिभावकले सरुवाको निर्णय वदर गर्न नगरपालिकालाई अनुरोध गर्दा कुनै सुनुवाई नभएको स्थानीय लक्ष्मण रम्तेलले जानकारी दिए ।

त्यसो त नीलकण्ठ नगरपालिकाले शिक्षक नियुक्ति सरुवामा मात्रै होइन अन्य करारका कर्मचारी नियुक्ति गर्दा समेत योग्यता क्षमताको आधारमा होइन आंफु निकटलाई जवरजस्ती योग्य बनाई जागिरमा लगाउने गरेको आरोप समेत लाग्ने गरेको छ ।