लपाङ खोलामा पक्की सडक पुल बन्दै

1643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको उत्तरी भेगका गाउँबस्तीका बासिन्दालाई सहज यातायातको सुविधा पु¥याउन जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको लपाङ खोलामा सडक पुल निर्माण हुने भएको छ ।

लपाङ खोलामा पक्की पुल नहुँदा जिल्लाको उत्तरी भेगमा पर्ने रूवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी तथा नेत्रावती डबजङको अधिकांश गाउँबस्तीमा बर्खायाम सुरू हुनासाथ यातायात सञ्चालन रोकिँदै आएको थियो ।

जिल्लाको विकटका बस्तीलाई सदरमुकामसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको धादिङबेँसी, साङ्कोस तिप्लिङ, सोमदाङ सडकखण्डमा पर्ने लपाङ खोलामा बन्ने पुलको शिलान्यास गरिएको छ । धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद् खेमप्रसाद लोहनीले शिलान्यास गर्नुभएको े पुल ४५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको हुनेछ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको आर्थिक सहयोगमा निर्माण हुन लागेको लपाङ पुलको कुल लागत ५ करोड ५४ लाख ५० हजार रहेको जनाइएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) प्रमुख जयराम श्रेष्ठका अनुसार पुल निर्माणको ठेक्का रसुवा कन्ट्रक्सन जेभी एनएस कम्पनीले पाएको छ । निर्माण कम्पनीले २०७७ मंसिर ३० गतेभित्र पुल निर्माण सम्पन्न गरी बुझाउनुपर्ने सर्त रहेको पनि आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

लपाङमा पक्की पुल बनेपछि साविकको त्रिपुरेश्वर, गुम्दी मार्पाक, दार्खा, सत्यदेवी, झार्लाङ, सेर्तुङ, तिप्लिङ, रिगाउँ, लापा गाविसका बासिन्दालाई सहज यातायातमा सुविधा पुग्नेछ । मोटर सञ्जालले नछोएको जिल्लाको दार्खा डुण्डुरेबाट झार्लाङ हुँदै सेर्तुङ, तिप्लिङसम्म सडक निर्माण कार्य अहिले भइरहेको छ । सडक सञ्जाल नपुगेका कारण जिल्लाको अतिविकट क्षेत्रका बासिन्दा जिल्ला सदरमुकाम धादिङबेँसी आइपुग्न ३ दिन हिँड्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

पुल शिलान्यास कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको थियो । कार्यक्रमलाई ३ नम्बर प्रदेशसभाका सांसद् जगत सिम्खडा, त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा, नेत्रावती डबजङ गाउँपालिकाका प्रमुख दुर्गकुमार शाक्य, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद शर्मालगायतको आतिथ्य रहेको थियो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संघीय तथा प्रदेशसभाका सांसद्ले विकास जनताको अधिकार भएकाले निर्माणको जिम्मेवारी पाएको कम्पनीले तोकिएको समयभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।