सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

1567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले अघि सारेको यो प्रस्ताव नेपाल सरकारले स्विकृत गर्दै असिन फाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा रङ्गशाला निर्माणका लागि मन्त्रिपरिषदले निर्णय गरेकाले रंगशाला निर्माणको बाटो खुलेको हो ।

पुस २८ गते बसेको मन्त्री परिषदको निर्णय विहिवार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम सूचना प्रविधि तथा सञ्चारमन्त्री बास्कोटाले सल्यानटारमा रंगशाला निर्माणका लागि जग्गा दिने निर्णय भएको जानकारी दिनु भएको हो । नेपालका ठूला टारहरु मध्येमा पर्ने सल्यानटार बहुचर्चित बूढीगण्डकी जलबिद्युत्त आयोजनाको प्रभावित क्षेत्रमा पर्दछ । रंगशाला निर्माणका लागि चाहिने जग्गा खरिद गर्न गाउँपालिकाले २ करोड वजेट विनियोजन गरेको र बाँकी रकम प्रदेश तथा संघीइ सरकार मार्फत माग गरिएको गाउँपालिकाका अध्यक्ष शम्भु थापाले वताउनु भयो ।

यसै गरि मन्त्रीपरिषद बैठकले धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ को कार्यलय भवन निर्माणका लागि १० आना जग्गा छुट्याएको छ । साविकको बैरेनी गाविसको कार्यालयको नाममा रहेको सो जग्गा ६ नम्बर वडा कार्यालयको नाममा सारेर भवन निर्माण गर्न अनुमति दिएको हो ।
गाउँ सभाबाट ६ नम्बर वडाको पुरानो भवन भत्काएर नयाँ भवन निर्माणको निर्णय भएकाले अब छिट्टैनै नयाँ भवन निर्माण कार्य शुरु गरिने वडाअध्यक्ष राजन श्रेष्ठले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।