मैदीभन्ज्याङ मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या सात

1291 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मंगलबार धादिङको मैदीभन्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।दुर्घटनामा ३७ जना घाईते भएका छन । घाईते मध्ये ११ जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौं लगिएको छ । उनिहरुको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । २० जना घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर गम्भिर घाईते ११ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत र अन्य ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौ स्थित ट्रमा सेन्टर पठाईएको छ । केही घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन ।

ज्वालामुखी गाउँपालिकामा रहेको ढोलामण्डलीमा पुजा गरेर गाउँ फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक मंगलबार दिउँसो चार वजे तिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा नीलकण्ठ नगरपालिका २, भुलभुले गाउँका २५ वर्षका विदुर गुरुङ,५२ वर्षका पूर्णनारायण श्रेष्ठ, ६५ वर्षका सेते गुरुङ, २८ वर्षका तिलक गुरुङ ,३९ वर्षका बेल ब गुरुङ , ३८ वर्षका ध्वज ब गुरुङ र ३४ वर्षका प्रेम बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको हो ।दुर्घटना पछि भुलभुले गाउँ शोकमा डुवेको छ । गाउँका सबै पिडामा परेका छन् ।दुर्घटनाको कारण खुल्न नसकेपनि चालकले मदिरा सेवन गरि होस गसमाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

केही समय यता ढोला मण्डलीबाट फर्कनेहरु दुर्घटनामा पर्नेक्रम बढ्दै गएको छ । धार्मिक विश्वासका आधारमा मण्डलीमा पुजापाठ हुने गरेको भएपनि केही बर्ष यता मण्डली जानु मदिरा सेवनका लागि हुन थालेको छ । वजारमा पाईने सबै प्रकारका रक्सि सहित हरेक मंगलबार मण्डलीमा सयौं व्यक्तिहरु समूह वनाएर जानेक्रम बढ्दै गएको छ ।