शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

1320 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , ११ माघ –  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले मृतकहरु प्रति श्रद्धाञ्जली दिन आज एक दिन कार्यालय विदाको घोषणा गरेको छ । धादिङको नीलकण्ठ नगरपालिकाले बुधवार शोक मनाउन विदा घोषणा गरेको छ । मंगलबार नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभन्ज्याङमा भएको दुर्घटनामा सात जनाको ज्यान गएकोमा दुःख व्यक्त गर्दै नगरपालिकाले बुधवार एक दिन विदा दिएको हो । नगरपालिका मातहतका सरकारी कार्यालय, शिक्षण संस्थाहरु वन्द रहने वताईएको छ ।

घाइते र मृतकको परिवारलाई नीलकण्ठ नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत नगरपालिकाले गरेको छ । आज शैक्षिक सँस्था, कार्यालय लगायत सबै क्षेत्रमा विदा रहेको नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाले धादिङ न्यूजलाई बताउनु भयो । मंगलबार नगरपालिकाले नेपाली सेनाको हेलिकप्टर चार्टर गरी ११ जना गम्भिर घाईतेलाइ काठमाण्डौं पठाएको थियो ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर मा रहेको ४ ढोलामण्डलीमा पुजा गरेर भोज खाई गाउँ फर्किदै गरेका दर्शनार्थीहरु चढेको आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३७ जना घाईते भएको गम्भिर घाईते ११ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट र ४ जनालाई एम्बुलेन्सबाट मंगलबार साँझ काठमाण्डौं लगिएको थियो ।

जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएका २२ जना मध्ये ८ जना मंगलबार राती १० वजे भित्र अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन भने बाँकी घाईतेको अहिले पनि जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरुमा २५ वर्षका विदुर गुरुङ,५२ वर्षका पूर्णनारायण श्रेष्ठ, ६५ वर्षका सेते गुरुङ, २८ वर्षका तिलक गुरुङ ,३९ वर्षका बेल बहादुर गुरुङ , ३८ वर्षका ध्वज बहादुर गुरुङ र ३४ वर्षका प्रेम बहादुर गुरुङ रहेका छन । मृतकहरु नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका वासिन्दा हुन ।

मंगलबार मन्दिरबाट पुजा सकेर भोज खाई फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक मंगलबार दिउँसो ४ वजे तिर निलकण्ठ नगरपालिका ८ मैदीभञ्ज्याङमा एक्कासी अनियन्त्रित भई सडकमै पल्टिएको थियो । दुर्घटनामा परि ४ जनाको घटनास्थलमा र ३ जनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आईचर ट्रक अत्याधिक गतिका कारण सडकमै पल्टिएको स्थानीयले वताए ।सदरमुकाम धादिङबेसीबाट ७ किलोमिटरको दुरीमा भएको सो दुर्घटना पछि जिल्ला सदरमुकाम धादिङबेसीबाट प्रहरी तथा उद्धारकर्मी तुरुन्तै घटनास्थल पुगेका थिए ।

हरेक साताको मंगलबार ढोलामण्डलीमा भाकल पुजा हुने गर्दछ । महिला जान नहुने र पाठी मात्रै बली लाग्ने यस मन्द्यिरमा बली चढाएको मासु मन्दिर क्षेत्रमै खाएर फर्कनु पर्ने मान्यता रहेको छ । पुजा गर्न प्रत्येक हप्ता समूह बनाएर गाउँ गाउँबाट सयौं मान्छे पुग्ने गर्दछन् ।