बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

1310 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी मनिषासँग बिहे गरेका विदुरका २ छोरी छन् । उनी घरको जग हालेर पुनस् जापान जाने तरखरमा थिए ।

ज्वालामुखी–४ स्थित ढोलामण्डली माईको थानमा मंगलबार पूजा गरी फर्केको ट्रक दुर्घटनामा उनको मृत्यु भयो । उनी स्थानीय ढोलामण्डली देवीमा भाकलअनुसार पाठी बलि दिन गाउँलेसहित त्यहाँ गएका थिए । सशस्त्र प्रहरीमा कार्यरत माइला दाजु भीमसेनसँगै सगोलमा रहेका विदुरको फेरि जापान जाने धोको अधुरै रह्यो ।

एकै बस्तीका ७ जनाले दुर्घटनामा ज्यान गुमाएपछि नीलकण्ठ नगरपालिका–२ भुलभुले शोकमा छ । सदरमुकाम धादिङबेंसीको सिरानमा पर्ने सदरमुकामको खानेपानीको मुहान स्रोत रहेको उक्त गुरुङ समुदायका ८० घरधुरी यतिबेला शोकमग्न छन् । बस्तीका सबै मंगलबारदेखि नै अस्पताल हातामा छन् । मृत्यु तथा घाइते भएका परिवारलाई संवेदना तथा सान्त्वना दिन टाढा–टाढाबाट आफन्तजनको ओइरो लागेको छ ।

उनका छिमेकी २८ वर्षीय तिलकबहादुर गुरुङ पनि भाकलअनुरूप पाठी बलि दिन गएका थिए । तिलक पनि जापान जान भाषा परीक्षा उत्तीर्ण गरी भिसा प्रक्रियामा थिए । गोरखा मूलपानीकी कोपिलासँग विवाह गरेका तिलक भूकम्पले भत्काएको घर निर्माण गरी अन्तिम किस्ता लिने प्रक्रियामा थिए । मलेसियाबाट फर्केर घर छेउमा कुखुरापालन गरेका उनी घाटा लागे पछि पुनस् वैदेशिक रोजगारीमा जान लागेका थिए ।

बस्तीका २८ घरबाट ४० जना जतिले भाकल गरेका ५ वटा पाठी लिएर ग१ख ८०८२ मिनीट्रक बुक गरेर त्यता गएका थिए । मन्दिरसम्म सार्वजनिक यातायात सुविधा नभएपछि विभिन्न मालवाहक सवारीसाधन, निजी जिप भाडामा लिएर जाने गरेका छन् । गाउँका आफन्तले भनेपछि गोकुल ढुंगानाको मिनीट्रक लैजान चालक सुभाष गुरुङ राजी भएका थिए । गाउँबाटै मदिरा, खानपिनका सामग्री, रासनसहति भाँडाकुँडासमेत बोकेर मण्डली गएका थिए ।

नगरपालिकासँग जोडिएको ज्वालामुखी–४ स्थित ढोलामण्डली माईको थानबाट बलि चढाएर मन्दिर नजिकैको दोभान बजारमा भोजभतेर गरेर फर्केका नीलकण्ठ–२ भुलभुलेका ७ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामा भुलभुलेका विदुर गुरुङ, ध्वजबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, सुनील भन्ने तिलकबहादुर गुरुङ, प्र्रेमबहादुर गुरुङ, बेलबहादुर गुरुङ र सेते गुरुङका परिवारले जाहेरी दिइसकेको जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए । दुर्घटनामा घाइते भएर काठमाडौं पुर्‍याइएका २२ जनामध्ये दिनेश गुरुङ ट्रमा सेन्टरको आईसीयूमा र २० जनाको इमर्जेन्सीमा उपचार भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका घाइते चालक सुभाषको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अन्य १२ जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

दुर्घटनामा निधन र घाइतेका आफन्तले क्षतिपूर्ति र उपचार खर्च माग गर्दै बुधबार जिल्ला अस्पताल धादिङमा धर्ना दिए । उनीहरूले क्षतिपूर्ति र उपचार खर्च टुंगो नलागेसम्म शव नउठाउने अडान लिएका छन् । बुधबार प्रजिअ आस्मान तामाङको अध्यक्षतामा पीडित पक्ष, स्थानीय जनप्रतिनिधिसहित बसेको जिल्ला यातायात व्यवस्था समितिको बैठक निष्कर्षविहीन भएको छ ।

मिनीट्रकका साहु गोकुल ढुंगाना छलफलमा नआएपछि क्षतिपूर्ति तथा उपचार खर्चबारे अन्योल कायम भएको र घाइतेको उपचारका लागि गृहमन्त्रालयमा लिखित अनुरोध पठाइएको प्रजिअ तामाङले बताए ।

दुर्घटनाको शोकमा नीलकण्ठ नगरपालिकाले बुधबार बिदा दिएको थियो । बुधबार बसेको नगरको बैठकले शोक प्रस्ताव पारित गर्दै घाइतेको उपचारका लागि ५ लाख, घाइते लिन गएको हेलिकप्टर र एम्बुलेन्स खर्चसमेत बेहोर्ने निर्णयसमेत गरेको नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारीले बताए ।  यो खबर हरिहरसिंह राठौरले कान्तिपुर दैनिकमा लेख्नु भएको छ ।