स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

1188 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी तथा गैर सरकारी निकायको समन्वयमा खानेपानी आयोजना सञ्चालन गरिंदैछ ।

जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ मा पिडा खानेपानी आयोजना निर्माण चरणमा रहेको छ । निर्माणाधिन पिडा खानेपानीको आयोजनाको विकास साझेदारहरुबाट संयुक्त रुपमा स्थलगत अनुगमन गरिएको छ । अक्सफाम र गजुरी गाउँपालिकाको साझेदारीमा प्रयास नेपाल धादिङले पुर्णिमा परियोजना अन्तगतको पिडा खानेपानी आयोजना निर्माण अघि बढाईरहेका छ ।

पुर्णिमा परियोजना अन्तगत प्रयास नेपाल धादिङले ,गजुरी गाउँपालिका र स्थानीय उपभोक्ताहरुको श्रमदान समेत गरेर २ करोड १४ लाखमा खानेपानी आयोजना सञ्चालन गरिरहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । आयोजनाले गजुरी गाउँपालिका वडा नं ५ र ६ का १ सय ५७ घरधुरी सहित ३ सय ५० भन्दा बढी बिद्यार्थी अध्ययनरत १ माबि र २ वटा सामुदायिक भवनमा समेत गरि १ सय ६० वटा धारा जडान गरि खानेपानी वितरण गरिने अर्याल बताउनुहुन्छ ।

यसै गरी आयोजनाले गजुरी गाउँपालिका वडा नं ५ र ६ का १ सय ५७ घरधुरीका ९ सय २४ जनाले प्रत्यक्ष सेवा पाउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारीको भनाई छ । पिडा खानेपानी योजना करिव ७ किलोमिटर माथिबाट गाउँको माथिल्लो भागमा ल्याई संकलन ट्याङ्की निर्माण गरि २४ घण्टा धारामा पानी आउने गरि घर–घरमा धारा जडान मार्फत खानेपानी सेवा उपलब्ध गराईने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

बर्षौ देखि खानेपानीको संकट व्यहोर्दै आएका स्थानीयवासी आयोजना सम्पन्न गर्न उत्साहका साथ लागि परेका छन् । सबै घरमा धाराबाटै स्वच्छ खानेपानी पुग्ने भएपछि गाउँलेमा खुशीयाली छाएको भण्डारीको भनाई छ । आयोजना सम्पन्न गर्नको लागि १ सय ५७ घरधुरीका १ सय ५१ भन्दा बढिले दैनिक श्रमदान गरिरहेका छन् । कार्य स्थल सुरक्षालाई ख्याल गरि कामदारहरुको बिमा गरि काममा लगाउनुको साथै कार्य स्थल जोखिमको पहिचान गरि काम गर्दा टाउकोमा हेलमेट,हातमा पञ्जा,खुट्टामा बुट,आखाँमा चस्मा लगाउन व्यवस्थापन गरिएको सामुदायिक प्राविधिक सिताराम चौधरीले जानकारी दिनुभयो ।
खानेपानी योजना संचालन गर्दा दिगोपन र कार्यान्वयन हुँदै गर्दा कामदार सुरक्षा,महिला पुरुषमा समान ज्याला,काममा बालश्रम निषेध,निर्माण सामाग्रीको गुणस्तरीयता लगायतका बिषयलाई विशेष ख्याल गरि कार्यान्वयन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । प्रयास नेपालले पीडा खानेपानी सहित शेराबेसि खानेपानी योजना सिद्धलेक ७,परेवाटार खानेपानी योजना सिद्धलेक ६,बेलेनिटार खानेपानी योजना गल्छी २ ,बज्रकोट खानेपानी योजनाका साथै धुनिबेसि ४ पनि घरघरमा धारा जडान मार्फत खानेपानी सेवा उपलब्ध गराउन काम गरिरहेको अर्यालले जानकारी दिनुभएको छ ।