करार अवधि सकिएपछि बर्थिङ सेन्टरका अनमीहरु समस्यामा

637 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/सुरक्षित सुत्केरी सेवा पाउन नसकेर अकालमै ज्यान जान जानेक्रम बढ्न थालेपछि  सुत्केरीहरुको सेवाका लागि प्रत्येक गाविसमा  स्थापना गरिएका बर्थिङ सेन्टरमा  कार्यरत अनमीहरुको करार अवधि सकिएपछि धादिङ जिल्लाका  सवै बर्थिङ सेन्टरहरु औपचारिक रुपमा अनमी विहिन भएका छन् ।
एक बर्ष अघि देखि जिल्लाका पचासैवटै गाविसमा बर्थिङ सेन्टर स्थापना गरेर  सेवा दिन शुरु गरेको धादिङ जिल्लाले राष्ट्रियस्तरमा पाएको चर्चा सेलाउन नपाउंदै तिनै बर्थिङ सेन्टरमा अनमीहरुको करार अवधि सकिएको हो । रिक्त रहेका गाउं गाउंका बर्थिङ सेन्टरहरुमा जिल्ला स्वास्थ्य कार्यालयले गत बर्ष विभिन्न निकायसंग समन्वय गरी ५५ जना अनमी  करारमा नियुक्त गरी पदपुर्ति गरेको थियो ।
आथिर्क वर्ष सकिए लगत्तै करारमा भर्ना भएका अनमीहरुको अवधि पनि सकिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आर्थिक वर्ष सकिए लगत्तै बर्थिङ सेन्टर रअन्य स्वास्थ्यसंस्थाहरुमा करारमा रहेका ५५ जना अनमी  समस्यामा परेका हुन । जिल्ला स्वास्थ्य कार्यालयले गत आर्थिक बर्षमा पचास गाविसमा रहेका बर्थिङ सेन्टर र अन्य स्वास्थ्य संस्थाका लागि ५५ जना अनमी करारमा नियुक्ति गरेको थियो । गत बर्ष देखि करारमा रहेका अनमीहरुको म्याद सकिएपनि सबैजनाले अहिले सम्म काम गरिरहेको र विभागले वजेट पठाउनसाथ उनिहरुको करार अवधि थप गरिने जिल्ला स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउदले वताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयले गत बर्ष विभिन्न गाविस र गैर सरकारी संस्था कोसान नेपालसंग सहकार्य गरी ५५ जना अनमीलाई करारमा लिएको भएपनि यो बर्ष सबैलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा चिन्तित रहेको बरिष्ठ जनस्वास्थ्य प्रशासक दाउद वताउनु हुन्छ । करारमा कार्यरत अनमीको म्याद सकिएपछि गाउं गाउंका बर्थिङ सेन्टरमा मात्र होइन सरकारी दरवन्दी रहेर पनि स्वास्थ्य कर्मचारी नभएका कारण जिल्लाको तिप्लिङ,लापा, सेर्तुङ  झार्लाङ,सेमजोङ,गुम्दी,आगिञ्चोक र साङकोष गाविसका स्वास्थ्य संस्थामा  भने मासिकाको भरमा सञ्चालन हुंदै आईरहेको छ ।
दरवन्दी अनुसारका स्वास्थ्यकमी नहुदा जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा  समस्या बढ्दै गएपछि  दरवन्दि रिक्त रहेका स्वास्थ्य केन्द्रहरुमा दरवन्दीअनुसारको स्वास्थ्यकर्मी पठाई दिन पटक पटक लोक सेवा आयोग र स्वास्थ्य सेवा विभागमा पत्राचार गरेको भएपनि सम्वन्धित निकायले खासैै चासो नदेखाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।