कोरोनाको सन्त्रासले सुदूरपश्चिममा उच्च सतकर्ता

795 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

डडेल्धुरा: सुदूरपश्चिममा नेपालकै सबैभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको पुष्टि भएपछि यस क्षेत्रमा उच्च सतकर्ता अपनाउन थालिएको छ।

यससंगै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।

गन्यापधुरा गाउँपालिकाको शनिबार सम्पन्न आकस्मिक बैठकले गाउँपालिकाका हरेक गाउँ शिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गर्ने निर्णय गरेको गाँउपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

गाउँपालिकाले कोरोनाको संक्रमणबाट बच्न र बचाउनका लागि गाँउपालिका भित्रका एक गाँउबाट अर्को गाउमा जान रोक लगाएको हो।

शनिबार सुदुरश्चिममा एकैसाथ तीनजनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको पुष्टि भएपछि गाँउपालिकाले सजकता अपनाएको अध्यक्ष मल्लले जानकारी दिए।

कैलालीका कोरोना संक्रमति युवक चैत ११ गते गौरीफन्टा नाकाबाट नेपाल भित्रिएको बुझिएसंगै सर्तकता अपनाइएको अध्यक्ष मल्लले बताए। सोही दिन डडेल्धुरा जिल्लाको गन्यापधुरा गाँउपालिकामा ३० जना युवाहरु भित्रीएका र अहिले सबै घर घरमै बसिरहेकाले सबैलाई सुरक्षित रूपमा बस्न गन्यापधुरा गाउँपालिकाले आग्रह गरेको छ।

सोही दिन गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका विभिन्न जिल्लाका ९ सय ९९ जनामध्ये अधिकांश अहिले घरमा रहेका र केही व्यक्ति मात्रै क्वारेन्टाइनमा बसेकाले उच्च सर्तकता अपनाउन थालिएको हो।

शनिबार कैलालीमा एक महिला र एक पुरुष गरी दुई जना र कञ्चनपुरमा एकजना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हो।

उनीहरू मध्ये दुईजना भारतबाट आएका व्यक्ति हुन भने एकजना सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजू हुन्।

नेपालमै पहिलो एकजनामा स्थानीय संक्रमण देखिएपछि यहाँका सबै क्षेत्रमा उच्च सर्तकता अपनाइएको हो।

यसले कोरोनाको संक्रमण बढ्ने भन्दै यहाँका हरेक स्थानीय तह र स्थानीय प्रशासन उच्च सर्तक रहेको जनाइएको छ।