२५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र ११ बुँदे सहमति संशोधन गर्न एकीकृत माओवादी र एमाले तयार

640 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /एकीकृत माओवादी र नेकपा एमालेले असन्तुष्ट दलहरुलाई चुनावमा ल्याउन हदैसम्मको लचकता अपनाउने निर्णय गरेका छन् ।

      एमाले नेता मधवकुमार नेपालको निवास कोटेश्वरमा शुक्रबार बिहान भएको दुवै दलका शीर्ष नेताहरुको छलफलमा असन्तुष्ट दललाई चुनावमा ल्याउने राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र ११ बुँदे सहमति संशोधन गर्न सकिने निष्कर्ष पनि निकालेका छन् । उच्चस्तरीय राजनीतिक समितिसँगको वार्तामा असन्तुष्ट दलले राखेका सरकार परिवर्तन र चुनावको मिति सार्नेबाहेकका अरू माग पूरा गर्न सकिने नेताहरुले भनाइ छ ।

     अहिलेसम्म भएको छलफललाई हेर्दा उपेन्द्र यादव र अशोक राई नेतृत्वको मोर्चा चुनावमा सहभागी हुन सकरात्मक भएपनि नेकपा माओवादी नेतृत्वको मोर्चा भने चुनावमा सहभागी हुन आनाकानी गरिरहेको नेताहरुको निष्कर्ष छ । असन्तुष्ट दलको माग बारे छुट्टाछुट्टै छलफल गरेपछि एकैपटक बैठक बोलाएर निर्णय वार्ता गर्ने उच्चस्तरीय राजनीतिक समितिको तयारी छ । छलफलमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र एमालेको तर्फबाट वरिष्ठ नेता मधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, केपी ओली र महासचिव ईश्वर पोख्रेल सहभागी हुनुहुन्थ्यो ।