असिना पानीले फलफूल र तरकारीमा क्षति

2522 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लाका मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार परेको असिना पानीले हिउँदे बाली तरकारी र फलफूल नष्ट गरेको छ । शनिबार बेलुकीपख परेको असिना पानीले बेमौसमी तरकारी तथा फलफूललगायतका बालीमा क्षति पुगेको हो ।

धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावती डबजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै मध्य क्षेत्रको नीलकण्ठ नगरपालिकाको विभिन्न भागमा शनिबार असिना र पानी परेको स्थानीयले वताएका छन् । असिना पानीले तरकारीबालीका साथै फूल खेलिरहेका फलफूल नष्ट भएको किसानले जानकारी दिएका छन् ।

पानी र ठूला ठूला दानासहित परेको असिनाले जिल्लाका विभिन्न भागमा तरकारी फलफूलमा लाखौँको क्षति पु¥याएको गंगाजमुना गाउपालिकाको बुढाथुमबाट किरण श्रेष्ठले जानकारी दिनुभयो ।

दिउँसोबाट एकाएक मौसम बदली भई साँझपख असिना पानीसहित हुरीले जनजीवन अस्तव्यस्त पारेको हो । असिना पानीले बर्सेनि हिउँदे बाली तरकारी तथा फलफूलमा ठूलो क्षति पु¥याउने गरेको छ । तरकारी तथा फलफूलमा क्षति पुगे पनि मकैवाली छर्ने तयारीमा रहेका किसानहरुले भने जमिन मलिलो हुने भन्दै खुसी व्यक्त गरेका छन् ।

यसैगरी, जिल्लाको दक्षिणी भेगका धेरैजसो ठाउँका साथै चितवनको राप्ती नगरपालिकाको गाउँबस्तीमा पनि असिना परेको स्थानीयले जानकारी दिएका छन् ।

फोटो  :  किरण श्रेष्ठ