बजारमा ल्याउन नसक्दा बारीमै कुहियो करोडौँको तरकारी

1606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण धादिङमा करोडौँ रुपैयाँबराबरको तरकारी बारीमै कुहिन थालेको छ ।

लकडाउनसँगै तरकारीबजार लैजान नसक्दा बारीमै कुहिन थालेको गल्छी गाउँपालिका ज्यामिरेखोलाका किसान मुक्तिनाथ खतिवडाले बताउनुभयो ।

लकडाउनअघि बारीबाट टिपेर आदमघाटसम्म पु¥याएपछि व्यापारीले किनेर लैजाने गरेकोमा अहिले कोही व्यापारीसमेत नआएको र आफूहरुसँग सवारी साधन नहुँदा बेच्नका लागि काठमाडौँ लैजान नसकिएको खतिवडा बताउनुहुन्छ ।

तरकारी बेच्ने बेला भएपछि लकडाउन सुुरु भयो, टिपेर राख्न पनि नमिल्ने भएपछि बारीमै कुहाउन बाध्य हुनुपरेको छ । यो वर्षको तरकारी खेतीबाट केही बचत गर्न सकिन्छ कि भन्ने थियो उल्टो ऋणमा परेको छाँगेटारका विनोद खतिवडाले बताउनुभयो ।

खाई नखाई सन्तानलाई जत्तिकै माया गरेर खेती गरेको तरकारी फलेपछि बेच्नै नपाउँदा निकै पीडा भएको खतिवडाको दुखेसो छ ।

‘सधैँ खेतमै आएर तरकारी लैजाने व्यापारीहरु लकडाउनसँगै गाउँ आउन छाडेका छन्’, थाँक्रे गाउँपालिका ११ बालुवाफाँटका किसान ओतराज विडारीले भन्नु भयो ।

बिडारीका अनुसार सवारी साधनको अभावले किसान आफैँले काठमाडौँसम्म लैजान सक्दैनन्, गाउँ वरिपरिका बजारमा बिक्री हुँदैन, काठमाडौँ लैजाँदा पनि बेच्न नसकेर उतै मिल्काएर आउनुपर्ने अवस्था रहेको छ ।

सरकारले दैनिक उपभोग्य सामग्री ओसारपसारमा रोक नलगाए पनि धादिङको स्थानीय प्रशासन र उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतका निजी क्षेत्रका संस्था र अन्य संघ संस्थाहरुले एक ठाउँको तरकारी अर्को ठाउँमा लैजान रोक लगाएका कारण जिल्लाका बजारमा लगेर तरकारी बेच्न नसकिएको किसानहरु बताउँछन् ।

कालिमाटी फलफूल तथा तरकारीबजार विकास समितिका अनुसार लकडाउनअघि धादिङबाट दैनिक कम्तीमा १८ देखि २० ट्रक तरकारी काठमाडौँ जान्थ्यो भने काठमाडौँबाटमात्रै दैनिक २५ देखि ३० लाखको हाराहारीमा नगद धादिङ भित्रिने गर्दथ्यो । यो तथ्याङ्कका आधारमा धादिङमा वार्षिक एक अर्बभन्दा बढी आम्दानी तरकारीबाटै हुने गरेको छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको अभिलेख अनुसार राजधानीसँग जोडिएको धादिङले काठमाडौँको तरकारी बजारमा ३१ प्रतिशत हिस्सा ओगट्दै आएको छ । काठमाडौँका साथै चितवन, पोखरा, बुटवल र सिमा नजिकका भारतीइय वजारमा समेत धादिङको तरकारीले बजार पाउने गरेको महासंघले जनाएको छ ।

लकडाउनका कारण तरकारी बिक्री गर्न नपाउँदा किसानले तरकारी नटिपेर बारीमै कुहाउन थालेका हुन् । धादिङको सिद्धलेक गाउँपालिकाको बुङचुङ, खरमटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटारका साथै गल्छी गाउँपालिकाको ज्यामिरेटार, छायाँटार, छत्रिटार, भुत्याहा, केउरिनीटार, चिरौंदी, ढुंगानाटार, कल्लेरीटार बेनीघाट रोराङको रिचोकटार, विशालटार, चरौंदीलगायतका गाउँबस्तीका हजारौँ रोपनी जमिनमा लगाएको लौका, घिरौँला, भिन्डी, घिउसिमी, गोलभेँडा, काँक्रा, फर्सीलगायतका तरकारी अहिले बारीमै कुहिएका छन् ।

सदरमुकाम र मुख्य बजार क्षेत्रका सर्वसाधारण हरियो तरकारीको अभाव झेलिरहेका छन् । उता किसान बेच्ने ठाउँको अभावले बारीमै कुहाएर फाल्न बाध्य भएका छन् । कृषकको तरकारी बारीमै कुहिएको विषयमा जानकार भएर पनि नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारले भने यस विषयमा खासै चासो नदिएको किसानहरुको गुनासो छ ।

जिल्लाका स्थानीय तह र स्थानीय प्रशासनले आवश्यक समन्वय नगर्ने हो भने एकातिर ग्रामीण क्षेत्रमा किसानले उत्पादन गरेका तरकारी खेतमै नष्ट हुने अवस्था छ अर्कोतिर बजार क्षेत्रका नागरिक तरकारी अभावमा छट्पटिनुपरेको छ । यसको अन्त्यका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले तत्काल सुरक्षित उपाय निकाल्न आवश्यक भएको कृषकहरु बताउँछन ।

कृषि ज्ञान केन्द्र धादिङको तथ्यांकअनुसार जिल्लाभर अहिले ६ हजार २२ हेक्टर जमिनमा व्यावसायिक तरकारी खेती गरिएको छ ।