नागढुंगामा शुरु भयो ‘डिसइन्फेक्सन टनेल’

1773 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २० बैशाख – त्रिभुनराजपथको नागढुंगा नाका भएर राजधानी प्रवेश गर्दै हुनुहुन्छ भने अब तपाई चढेको सवारी साधन ‘डिसइन्फेक्सन टनेल’ मा छिरेर अनिवार्य किटनाशक झोल छर्किएर मात्रै जानु पर्नेछ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा नाकामा बनाइएको ‘डिसइन्फेक्सन टनेल’ शुक्रबारबाट सञ्चालनमा आएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुक्रवार टनेलको उद्घाटन गरेसंगै राजधानी प्रवेश गर्ने हरेक सवारी साधनलाई ‘डिसइन्फेक्सन टनेल’ बाट प्रवेश गराउन थालिएको हो ।

सामान्य समयमा नागढुंगाबाट दैनिक १० देखि १५ हजार सवारी–साधन भित्रने गर्दछन् ।तर, अहिले ‘लकडाउन’को समयमा भने खाद्यान्न बोक्ने साना–ठूला गरी दैनिक ४०० को हाराहारीमा मात्र सवारी–साधन भित्रने गरेका छन् ।कोरोना संक्रमणको जोखिमका कारण यस्ता सवारी–साधनलाई पनि अब ‘डिसइन्फेक्सन’ गर्न थालिएको छ ।

सुरुको चरणमा ठूला सवारी–साधनलाई मात्र अनिवार्यरुपमा डिसइन्फेक्सन टनेलमा प्रवेश गराइ ‘डिसइन्फेक्सन स्प्रे’ गर्ने व्यवस्था मिलाइएको छ ।

२० फिट लामो १५ फिट चौडाइको टनेल २० फिट अग्लो छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ ।  एउटा सवारी–साधनका लागि करिब एक लिटर पानी लाग्ने अनुमान गरिएको छ ।दैनिक तीन हजार सवारी–साधनका लागि टनेल पर्याप्त हुने वताईएको छ ।

लकडाउनको समयमा अति आवश्यक सामाग्री लिएर राजधानी प्रवेश गरिरहेका मालवालक सवारी साधन देखि अन्य काम बिशेषले सरकारी अनुमति पाएर गुडेका सवारी साधनको संख्या सडकमा बढ्न थालेपछि ति सवारी साधन मार्फत काठमाडौंमा कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने उद्देश्यले गाडीलाई निस्संक्रमण गर्न चन्द्रागिरि नगरपालिकाले ‘डिसइन्फेक्सन टनेल’ सञ्चालनमा ल्याएको नगर प्रमुख घनश्याम गिरीले बताउनु भयो ।

तीन महिनासम्मका लागि टनेलमा चाहिने आवश्यक सामग्री व्यवस्थापन भइसकेको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपी सुर्खेतीले जानकारी दिनुभयो । राजधानी प्रवेश गर्ने मुख्य नाका भएकाले सवारी साधनलाई निस्संक्रमण गर्नु आवश्यक भएकोले तीन महिनासम्म टनेलका लागि चाहिने आवश्यक केमिकल, पानी, जनशक्ति, विद्युत सडक लाइटको व्यवस्थापन भइसकेको सुर्खेतीले वताउनु भयो ।

नगरपालिका संग समन्वय गरि सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा टनेल निर्माण गरिदिएको हो । टनेलमा चाहिने पानीको व्यवस्थापन सुरक्षाको नगरपालिकाले गरेको छ भने यस्को सञ्चालन नागढुंगा प्रहरीबाट गरिएको मेयर घनश्याम गिरीले जानकारी दिनु भयो ।

नागढुंगामा शुरु गरिएको टनेलले राम्रो नतिजा दिए अन्य नाकामा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो ।