प्रचारप्रसारको पर्खाइमा गजुरीको तुनी झरना (फोटो फिचर)

3244 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गजुरी गाँउपालिका वडा नं २ मा रहेको तुनी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

पृथ्वीराजमार्गमा पर्ने मलेखु माछाबजारबाट मलेखु भण्डारा चेपाङमार्ग हुँदै मोटरमा डुँडेठाँटी पुगेर त्यहाँबाट ३ किलोमिटर पैदलयात्रा गरेपछि तुनी झरनामा पुग्न सकिन्छ ।

वषौँअघिदेखि पहिचानमा आएको भए पनि प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा वाहय पर्यटक यहाँ बिरलै पुग्ने गरेका छन । एक महिनादेखि जारी लकडाउनका कारण घरभित्र बस्दाबस्दा दिक्क लागेपछि एकान्त ठाउँको खोजी गर्दै वरिपरिका वासिन्दा झरना जानेक्रम बढ्न थालेको हो । केही दिनयता नयाँ ठाउँ हेर्न र गर्मी छल्नका लागि भन्दै स्थानीयहरु झरनामा जाने क्रम बढिरेहको गजुरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चूडामणि कँडेल बताउनुहुन्छ ।

हरियाली वनले ढाकेको खोल्सामा एक सय मिटरभन्दा माथिको उचाइबाट पानी झरेर बनेको सो झरना निकै मनमोहक छ ।

प्रचारप्रसारको अभावले टाढा टाढाबाट मानिसहरु नआए पनि स्थानीयहरु समूह समूहमा गएर झरना अवलोकन गर्ने, सेल्फी खिच्ने, समूहमा तस्बिर, खिच्ने नुहाउने गर्दछन् । लकडाउनका कारण बाहिरका पर्यटक पुग्न नसके पनि स्थानीयहरु भने झरना जानेक्रम बढेको स्थानीय रामशरण डल्लाकोटीले बताउनु भयो ।

मलेखुको माछाबजारबाट १० किलोमिटर यात्रा गरेपछि पुग्न सकिने तुनी झरना गजुरी गाउँपालिकाको डुँडेठाँटीदेखि केही परबाट भने करिब एक घन्टा पैदल यात्रा गर्नुपर्दछ । झरनाको प्रचारप्रसार र पूर्वाधार विकास गर्न सकिए यो ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्न सकिने डल्लाकोटी बताउनुहुन्छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतका अनुसार पालिकाभित्र रहेका सबै पर्यटकीय गन्तव्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि डिपिआर बनाएर अघि बढ्ने योजनामा पालिका रहेको छ । झरनासम्म पुग्न सकिने सडक र पदमार्ग विस्तारदेखि विभिन्न आकर्षण संरचना र पिकनिक स्पट निर्माण गर्न लकडाउनपछि प्राविधिकहरुसँग बसेर छलफल गरी योजना बनाउने तयारीमा रहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

पर्यापर्यटकीय दृष्टिकोण एवं मनोरञ्जनका हिसाबले अति महत्त्वपूर्ण रहेको झरनाको उचित प्रचारप्रसारसमेत भएको छैन । यस्तो प्राकृतिक रमणीयस्थलको विकासका लागि हामी तत्काल पहल थाल्छौँ । झरनासम्म पुग्ने सडक र बाटो सुधार गरिने गजुरी गाउँपालिकाको उपाध्यक्ष सीता ढुंगानाले बताउनु भयो ।

पर्यटन क्षेत्रको विकासले आर्थिक विकास र रोजगारीलाई समेत सहयोग पुग्ने भएकाले पर्यटनका माध्यमबाट आर्थिक विकास र समृद्धिका लागि प्राकृतिक रमणीय पर्यटकीयस्थल तुनी झरना ओझेलमा पार्न नहुने उपाध्यक्ष ढुंगानाको भनाइ छ ।

  • तस्बिरहरु  : रामहरी थापाबाट