कोरोना पुष्टि भएसँगै थांक्रेका युवाको बस्ती शिल

1619 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ६ जेठ – धादिङमा कोरोना भाईरस संक्रमित भएका तेश्रो व्यक्ति भेटिएका छन । काभ्रेको धुलिखेल अस्पतालको ल्यावमा गएर स्वाब परिक्षण गराउँदा कोरोना संक्रमण भएको पुष्टि भएके धादिङका ति युवा जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ७ का वासिन्दा हुन ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बिबरण अनुसार ति युवामा कोरोना सँक्रमण भएको पुष्टि भएपछि थप संक्रमण फैलन नदिन स्थानीय प्रशासनले मंगलबार पालिकाको विभिन्न स्थानमा शील गरेको छ ।

मंगलबार विहान थांक्रे गाउँपालिकाको जुंगेखोलामा बसेको सर्वपक्षिय बैठकको सिफारिसबाट जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार विहानबाटै लागू हुने गरि सँक्रमित व्यक्तिको घर तथा बस्ती र पुर्वमा गोजेखोल्सा एभरेष्ट पम्प, पश्चिममा पृथ्वी राजमार्गको ८ किलो, उत्तरमा महेशखोला र दक्षिणमा उडुवादेवी आधारभुत विद्यालय भित्रको चार किल्ला शील गरिएको थांक्रे गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामकुमार बस्नेतले वताउनु भयो ।

शील गर्नु अगाडी मँगलबार बिहान थांक्रेमा धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले आगामी जेठ ११ गते राती १२ बजे सम्म सँक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकले उल्लेखित चार किल्ला क्षेत्र भित्र पुर्ण शिलबन्दी गर्ने, पुर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकता अनुसार नेपाली सेनाले सवारी गस्ति गर्ने लगायतका निर्णय गरेको पनि वडाअध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

बैठकले सँक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको क्लोज मनिटरिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र क्वारेन्टाईनको व्यवस्था गर्ने लगायतका निर्णय सँगै एम्बुलेन्सलाई कोभिड प्रतिकार्यका लागि २४ घण्टा तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ ।

थांक्रे गाउँपालिका वडा नम्बर ७ घर भई काठमाण्डौं वागवजारमा छापाखाना सञ्चालन गर्दै आएका ४० बर्षिय पुरुषको सोमबार धुलिखेल अस्पतालको रिपोर्टबाट कोरोना संक्रमित भएको पुष्टि गरिएको थियो । लकडाउन शुरु भएपछि घर आएर ४० दिन घर बसि बैशाख २८ गते काठमाण्डौं फर्केका ति युवा यस बिचमा कहाँ कहाँ पुगे र कति जना मानिसलाई भेटे भन्ने बारेमा खोजी शुरु भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख एवम जिल्ला कमाण्ड पोष्टका सचिव भुवन पौडेलले जानकारी दिनुभयो ।

धादिङ जिल्ला घर भएका पहिलो संक्रमित नेत्रावती डवजोङ गाउँपालिकाका युवा निको भएर घर फर्किसकेका छन भने दोश्रो संक्रमित गल्छी गाउँपालिका कटुवालपौवाकी ३० बर्षिया युवतीको पाटन अस्पतालको आईशोलेसन कक्षमा उपचार भईरहेको छ ।