कोरोना त्रासका बिच धादिङ अस्पतालमा गर्भवतीको सफल शल्यक्रिया

1519 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ जेठ – अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यन्तै जोखिममा देखिएको धादिङ जिल्ला अस्पतालले बुधबार एक गर्भवतीको सफल शल्यक्रिया गराएको छ ।

बुधवार धादिङ अस्पतालका ७ जना कर्मचारीमा आरडिटी पोजेटिभ देखिएपछि अस्पतालले तत्कालका लागि ओपिडि लगायतको सेवा रोकेपनि सुत्केरी गराउन आएकी महिलाको ज्यान जोखिममा पर्न नदिन अस्पतालले शल्यक्रिया मार्फत सेवा दिएको हो ।

नीलकण्ठ नगरपालिका ७ की २५ बर्षकी महिलालाई शल्यक्रिया मार्फत सेवा दिंदा कोरोना भाइरसको संक्रमण फैलन सक्ने तर्फ बिशेष सावधानी अपनाउँदै सुत्केरी सेवा दिईएको जिल्ला अस्पतालका सूचना अधिकारी बिक्रम बिकले वताउनुभयो ।
कोरोना त्रासको कारण देखाउँदै काठमाडौ रिफर गर्दा महिला र शिशुको जिवन जोखिममा पर्न सक्ने उच्च सम्भावना देखिएपछि गर्भवती महिलाको परिवारले अस्पतालमै शल्यक्रिया गराईदिन अनुरोध गरेका थिए ।

परिवारको आग्रह र विरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अस्पताल प्रशासनले तत्काल कोरोना भाइरसबाट पुर्ण रुपमा सुरक्षित रहने व्यबस्थापन गरी सफल सल्यक्रिया गराएको अस्पतालले जनाएको छ ।

सुत्केरी महिला र शिशु दुबैको स्वास्थ्य अबस्था सामन्य रहेको छ । कठिन परिस्थितिमा पनि उच्च मनोवलका साथ विरामीको सेवा दिएको भन्दै निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.दीपा बोहरा, शल्यक्रियामा संलग्न डाक्टर रन्जनसिंह राठोर, डा. सन्जिब लामा,एनेस्थेसिया सहायक लेख बहादुर श्रेष्ठ, नर्सिङ अधिकृत रेनुका भन्डारी, र श्याम गोम्जालाई अस्पताल विकास समितिले आभार व्यक्त गरेको छ ।