उपत्यका प्रवेश गर्न आरडीटी नेगेटिभ प्रमाणपत्र चाहिने

1261 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–ं उपत्यकाका स्थानीय तहहरुले उपत्यका सील गर्न माग गरेसंगै गृह मन्त्रालयले सूचना जारी गरी काठमाडौं उपत्यका प्रवेश गर्ने सम्पूर्ण नाकाहरु सिल गरिएको छ । मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक उपत्यका प्रवेशमा रोक लगाउँदै कार्यान्वयनको जिम्मा स्थानीय तहलाई दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा १ जेठमा बसेको नगरपालिका फोरमका पदाधिकारी र उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख सहित उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसंग परामर्श गरिएको थियो ।

काठमाडौं प्रवेश गर्नुपर्नेले आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने सूचनामा उल्लेख छ ।

गृहले उपत्यकाका स्थानीय तहलाई पठाएको पत्रमा स्थानीय संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्न आग्रह गरिएको छ।

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको २७ वैशाखमा बसेको बैठकले पनि उपत्यका प्रवेशमा कडाई गर्न सरकासँग माग गरेको नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले बताउनुभयो ।

निर्णय कार्यान्वयनको पत्र प्राप्त भएसंगै उपत्यकाका सबै स्थानीय तहहरुले आफ्नो स्थानीय तहभित्र रहेको प्रहरी र आफ्नो नगर प्रहरी परिचालन गरी नाका सिल गर्नुपर्ने बताइएको छ ।