भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

1739 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१० जेठ – धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका छन् । आईतबार बेलुकी सुनौली नाकाबाट दुई १ सय ३३ जना र रुपन्देही जिल्लाको विभिन्न क्वारेन्टाईबाट ८४ जना शनिवार विहान धादिङ आइपुगेका हुन । रुपन्देही जिल्लाका क्वारेन्टाईनमा रहेका ८८ जनालाई लिन नीलकण्ठ नगरपालिकाले चार वटा बस पठाएको थियो भने सुनौली नाकाबाट १ सय ३३ जना भने आफ्नै खर्चमा आएका हुन् ।

भारतको विभिन्न स्थानबाट सुनौली नाका आएका हजारौं नेपालीहरु सीमामा अलपत्र पर्नेक्रम बढ्न थालेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले सम्वन्धित जिल्ला प्रशासन संग समन्वय गरेर उनिहरुलाई आआफ्नो जिल्ला पठाएको हो ।

सुनौली नाकाबाट जिल्ला भित्रिएका मध्ये नीलकण्ठ नगरपालिकाको १२ जना वालवालिका सहित ७९ जना, सिद्धलेक गाउँपालिका २३ जना,नेत्रावती डबजोङ गाउँपालिका ११ जना र ज्वालामुखी गाउँपालिकाको २ जना रहेका छन । धादिङको टोली संगै नुवाकोट जिल्लाका विभिन्न स्थानका १६ जना पनि संगै आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । लकडाउनले रोजगारी गुमेर अलपत्र भएपछि उनिहरु भारतका विभिन्न स्थानबाट सुनौली नाका आईपुगेका थिए । भारतबाट सिधै आएकाहरु क्वारेन्टाइनमा पनि नबसेको र उनिहरुको आरडिटी परिक्षण पनि नभएकाले ति सबैलाई जिल्लाका विभिन्न स्थानका अनिवार्य क्वारेन्टाइनमा राखिने धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले वताउनुभयो ।

नीलकण्ठ नगरपालिकाले बस पठाएर ल्याएका ८४ जना मध्ये २० जना नुवाकोटका, १० जना नेत्रावती डबजोङ र ३ जना गल्छी गाउँपालिका छन् । बाँकी नीलकण्ठ नगरपालिका हुन् । उनिहरु सबै आरडिटी परिक्षणमा नेगेटिभ आएको र क्वारेन्टाईनमा बसेर आएको हुँदा उनीहरुलाई वडा कार्यालय संग समन्वय गरेर आफ्नो घर पठाईने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

यसै गरि सिद्धलेक गाउँपालिकाले पनि भारतीय सिमानामा क्वारेन्टाईनमा बसेका २३ जनालाई घर ल्याएको छ । यसअघि नीलकण्ठ नगरपालिकाले बस पठाई भैरहबाट जेठ ६ गते गल्छी गाउँपालिकाको ६ जना सहित ३८ जनालाई घर ल्याएको संकट व्यवस्थापन केन्द्र ( सिएमसि) धादिङले जनाएको छ ।

सुनौलीबाट काठमाडौ आएको बसमा बिहिबार ३ जना र शुक्रबार ३ जना गरि ६ जना नेत्रावती डबजोङका नागरिकहरु आएको र उनीहरुलाई मलेखुबाट नेत्रावती डबजोङ गाउँपालिकाले गाउँ पु¥याएको गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले वताउनु भयो । भारतका विभिन्न ठाउँबाट नेपालीहरु सिमामा आउनेक्रम बढ्दै गएपछि जिल्लामा उनिहरुको व्यवस्थापन कसरि गर्ने भन्ने चुनौती पनि थपिंदै गएको छ ।