सुकौराको विकासको लागि के गर्ने ?

1729 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • मेरो सुकौरा

आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख, सशर्त अनुदानमार्फत २० करोड ५१ लाख तथा समपुरक अनुदानमार्फत ४ करोड गरी जम्मा ३७ करोड ५९ लाख रुपैयाँ पाएको छ । हाम्रो पालिकाले पाएको रकम निलकण्ठ नगरपालिका (६२ करोड ८३ लाख) र बेनीघाट रोराङ गाउँपालिका (४० करोड ९७ लाख) पछि धेरै हो । जबकी धुनीवेशी नगरपालिकाले समेत ३३ करोड ५४ लाखमात्रै पाएको छ ।

अंककै हिसाव गर्ने र हाम्रो गाउँपालिकामा विकास गर्नुपर्ने क्षेत्र हेर्ने हो भने विनियोजि रकम निकै थोरै हो । हुनत, विकासको लागि बजेट अपरिहार्य शर्त चाँही होइन । तर, बजेट नै चाहिन्छ भन्ने हो भने पनि त्यो भन्दा अघि दृढ इच्छाशक्ति सहितको योजना अपरिहार्य छ । एउटा आर्थिक वर्षको लागि करिब साढे ३७ करोड रुपैयाँ बजेट भनेको पुरै गाउँपालिकाभरी जम्मा ३७ वटा आधुनिक भवन बन्नु सरह हो । तर, आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमा लाग्नु त्यति उपयुक्त हुँदैन । किनकी कोरोना भाइरस (कोभिड– १९)को कारणले गर्दा देशको अर्थतन्त्र नै प्रभावित भइसकेको अवस्थामा महत्वकांक्षी योजनाहरुको कार्यान्वयन सम्भव हुनसक्दैन । त्यसो भए गाउँपालिका सुकौराको विकासको लागि के कुरामा केन्द्रीत हुने ?

स्वास्थ्यः
कोरोना भाइरसको विषम अवस्थामा हामीले स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । कसैमा कोरोनाको संक्रमण देखिएको खण्डमा सिँगो गाउँ नै जोखिममा पर्न सक्छ । तसर्थ, गाउँमा नयाँ मानिसको प्रवेशमा कडाई गरिनुपर्छ । यदी प्रवेश गराउनुपर्ने अवस्था आए दुई साता अनिवार्य क्वारेन्टिनमा राख्नुपर्छ । क्वारेन्टिनमा भएका मानिसहरुमा कोरोनाको लक्ष्यण देखिए जनप्रतिनिधि वा सल्यान्टारस्थित अस्पताललाई जानकारी गराउनुपर्छ । यस अवस्थामा हरेक मानिससँग एम्बुलेन्स चालकको नम्बर हुनु आवश्यक छ । कुनै पनि बहानामा एम्बुलेन्सले बिरामी बोक्ने काम बन्द गर्नु हुँदनै ।

कोरोनामात्रै होइन पछिल्लो केही वर्षयता हाम्रो गाउँमा लामखुट्टको संख्या बढ्दैछ । लामखुट्टको टोकाइले बिभिन्न सरुवा रोग निम्त्याउनसक्छ । तसर्थ, यसको निराकरणको लागि झुलभित्र सुत्नेसहित सामुदायिक स्तरबाट निराकरणको प्रयास गरिनुपर्छ ।

कृषि :
हाम्रो सुकौरा तथा वरिपरीको क्षेत्रमा आउने अधिकांश बजेट कृषि केन्द्रीत हुनु आवश्यक छ । भौतिक पूर्वाधार निर्माण भन्दा पनि सुकौरा कृषिको लागि उत्तम क्षेत्र भएको कारणले नगदे बालीसँगै केही दिर्घकालिन कृषिमा जनताहरुलाई परिचालित गर्न सकिन्छ । कृषिमा हामी अघि बढ्ने हो भने हामीलाई समूहगत कृषि खेतीको आवश्यकता पर्छ । तर, जसको नेतृत्व गर्ने मानिसमा दूरदृष्टि हुनुपर्छ । सबैको विचारलाई समेटेर अघि बढ्न सक्ने, वडा, गाउँपालिका, जिल्ला कृषि कार्यालय, कृषि मन्त्रालय तथा बिभिन्न संस्था दातृ निकायहरुसँग समेत समन्वय गर्न सक्ने क्षमता भएको मानिसलाई कृषिसमूहको नेतृत्व दिनुपर्छ । जसमा अविरल बग्ने आँखुखोलाको पानी बाह्रै महिना फाँटमा ल्याउनसक्ने आँट होस् ।

हाम्रो गाउँका अधिकांश मानिसहरुको मुख्य पेशा कृषि नै हो । एक वर्ष भरी काम गरेर पनि खान नपुग्ने मानिसहरु हाम्रै गाउँमा छन् । त्यसकैको विकल्पमा मानिसहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका हुन् । अब वैदेशिक रोजगारीमा गएकाहरु समेत गाउँ फर्किनसक्ने अवस्था भएकोले कृषिको दायरा बढाउनको लागि आधुनिक कृषि खेतीतर्फ हामी आकर्षित हुनुपर्छ । यसको लागि कृषि कार्यालयले औजारको व्यवस्था गर्नेछ भने तालिमहरु पनि स्थानीयस्तरमै हुनेछन् । हाम्रो सुकौरामा कृषि आमाबुबा तथा दाजुभाई दिदीबहिनीहरुलाई कृषिको ‘कृषिको गणितिय तालिम’ अर्थात् नाफाघाटासहितको तालिम दिइनुपर्छ । जसको भाषा सरल हुनुपर्छ ।

कृषिको लागि हामीलाई बजारको खोज्न टाढा जानुपदैन । तरकारी किनेर खाने चलन हाम्रो गाउँमा भित्रिसकेको छ । अझै नजिकै रहेको खहरे बजार, करिब १२ किलोमिटर टाढाको आरुघाट बजार, ३४ किलोमिटर टाढाको धादिङवेशी, ५० किलोमिटर टाढाको मलेखु तथा १३० किलोमिटर टाढा रहेको राजधानी पनि त कृषिको लागि बजार हो । भौगोलिक हिसावले सुकौरा र बजारक्षेत्रबीचको दूरी बाधक हुन सक्दैन । तसर्थ, बजारको चिन्ता भन्दा पनि प्रभावकारी ढुवानीसहित बजारीकरणको चिन्ता नेतृत्वमा हुनेले लिनुपर्छ ।

वैदेशिक रोजगारीमा गएकाहरुको व्यवस्थापन

विदेश गएर फर्किएका तथा फर्किनेहरुको संख्या सुकौरामा करिब ९० जति छन् । वैदेशिक रोजगारीमा गएर फर्किनेहरुमा शिप र क्षमता हुन्छ । उहाँहरुसँग जे सिप र क्षमता छ त्यही काम गर्नुपर्छ । विदेशमा गर्नहुने आफ्नै गाउँमा गर्न नहुने भन्ने प्रश्न नै उठ्दैन । कामको हिसावले विभेद नभएको हाम्रो गाउँमा उहाँहरुले त्यो काम झनै गर्नपर्छ । होला अहिले नै मोटो रकम आम्दानी नहोला तर, स्थापीत भइसकेपछिको अवस्थालाई पनि त दृष्टि गत गर्न सकिन्छ नि !

गिट्टी बालुवा

अहिले पनि सुकौराका कतिपयको दैनिकी गिट्टी बालुवा भरेर चलिरहेको छ । यसलाई जारी नै राख्नुपर्छ । तर, गिट्टी बालुवाको काम जोखिमपूर्ण भएकोले व्यक्तिगत सुरक्षाको सवालमा तालिमहरु दिइनुपर्छ । कतिपय प्रकृतिले दिने चिजहरु सीमित हुन्छन् । यदी त्यसलाई रित्याइयो भने प्रकृतिको श्रापमा हामी पर्छाैं । यदी गिट्टी बालुवा हाम्रै क्षेत्रबाट उठाइन्छ भने त्यसवापत उठ्ने अधिकांश कर पनि हाम्रै क्षेत्रमा खर्च हुनुपर्छ । जसले प्रकृतिको संरक्षण पनि गर्न सकोस् ।

शिक्षा

चैत ११ गतेदेखिको लकडाउनको कारण जनज्योती स्कुल, त्रिपरेश्वर बोर्डिङ स्कुल, अचने माबी, सल्यान्टारको बाल विकासमा तथा अन्य विद्यालयमा पढ्ने अधिकांश बालबालिका अल्छि भइसकेका छन् । यसमा उनीहरुको दोष छैन । तर, बैशाखबाट सुरु हुने शैक्षिक शत्र कहिलेबाट खुल्छ भन्ने निश्चित नभइरहेको अवस्थामा ती बालबालिकाहरुलाई मार्गदर्शन गर्ने काम हरेक अभिभावक, अग्रज तथा शिक्षकको हो । लकडाउनले शैक्षिक शत्र प्रभावित भइसकेको अवस्थामा उनीहरुको प्रभावकारी शिक्षणको लागि शिक्षकहरुको थाप्लोमा थप जिम्मेवारी आइसकेको छ । शिक्षकहरु अहिले नै प्रभावकारी शिक्षण विधीको खोजीमा लाग्नुपर्छ । विद्यार्थीकालमा भन्दा पनि पढाइको महत्व भविष्यमा बढी हुने भएकोले त्यसतर्फ विचार गरिनुपर्छ । अर्को कुरा अहिले छाडासँग हिडेका विद्यार्थीहरु विद्यालय खुलेपछि शिक्षकको लागि थप चुनौति बन्नसक्छ ।

खेलकुद

विडम्बना खेलकुद तथा योगा ध्यानलाई हाम्रो गाउँमा अझै सामान्य रुपमा लिइन्छ । किनकी हाम्रो गाउँका खेलाडीहरु राष्ट्रिय स्तरसम्म कोही पनि पुगेका छैनन् । खेलकुदको महत्वबारे अभिभावक तथा समाजका अग्रजहरुले बुझेनन् भन्दा अतियोक्ति नहोला । तसर्थ, हरेक खेलहरुको सम्भावना झनै बढेर गएको छ । गाउँलेको श्रमदानबाट कुनै क्षेत्रमा खेलकुद मैदान निर्माण गरेर हरेक दिन अभ्यास गर्दा हाम्रा गाउँका युवायुवतिहरु पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्छन् । यसको निकै थोरै बजेट तथा बलियो नेतृत्व भएमात्रै पुग्छ । गाउँमा जसले खेलकुद बुझेको छ उहाँमाफर्त बिभिन्न काम गराउन सकिन्छ । हरेक दिन बालबालिका, युवायुवति सहित उमेर ढल्केकाहरुले पनि खेलकुद तथा योगा ध्यानमा समाहित राउन सके शारीरीकसँगै मानसिक रुपमा पनि सबै स्वस्थ हुन्छ । यसमा विशेष ध्यान जाओस् किनकी खेलकुद र योगा ध्यानले जुवातास तथा कुलतलाई निरुत्साहित गर्छ ।

गाउँबाहिर रहेकाहरुको भूमिका के ?

हाम्रो गाउँमा हरेक पेशा (पाइलटबाहेक)मा आबद्ध मानिसहरु देश विदेशमा छरिएर बसेका छन् । ती मध्ये हरेकलाई आफ्नो गाउँमा केही योगदान गरौं भन्ने छ । यस्तो बखतमा त्यस्ता मानिसहरुबाट लिन सकिने कुराहरु हामीले लिनुपर्छ । सुझाव सल्लाह लिँदा पेशामा पोख्तहरुसँग लिने हो चाहे उमेरले सानो होस् या ठूलो । जस्तो, घर बनाउँदै गर्दा इन्जिनियरसँग, पढ्दै गर्दा शिक्षकसँग, रोग तथा रोगको लक्ष्यण देखिए डाक्टरसँग, गाडी किन्न वा चालक बन्न म लागे ड्राइभरसँग, कुनै विषको अध्यायन गर्न मन भए सो विषयसँग जानकारी व्यक्तिसँग सोध्न हिचकिचाउनु हुँदैन । हाम्रो समाजको विकासको लागि हाम्रै समाजका मान्छेहरु बाधक बन्दैनन् । किनकी सुकौराका हरेका मानिसको मन सफा छ ।
०००