लकडाउनलाई अवसरका रुपमा लिऔं

763 पटक पढिएको

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहीबार २१:५२

सम्पादक: Dhading News

  • सानुबाबु तिमिल्सिना


सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको यो अवधिमा राम्रो काम गरेका छन् । गाउँमा खानेपानीको दुःख रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँका युवाहरुले गाउँमा ल्याइएको खानेपानीको लाइन मर्मत गरी पानी सुचारु गर्न सफल भए । गाउँमा झण्डै ६ किलोमिटर टाढा ठुलोखोलाबाट लगिएको पानी राम्रोसँग गाउँमा पुगेको थिएन । झण्डै दश बर्ष अगाडि बनेको सो योजनाबाट गाउँका मानिसहरुले धित मरुञ्जेलसम्म पनि पानी खान पाएका थिएनन् । तर अहिले घर घरमा पानी झरेको छ । लकडाउन हुनुभन्दा अगाडि सम्म खानेपानी मर्मत गर्न त परको कुरा खानेपानीको मुहानसम्म जान पनि कसैलाई फुर्सद थिएन तर यो लकडाउनको बेलामा मानिसहरु दैनिक रुपमा कोदालो, पिक, गल, रेञ्ची लगायतका आवश्यक सामाग्री लिएर विग्रिएको पाइपलाइन उतार्ने र मर्मत गर्ने कार्यमा आफैं तल्लिन भए र सफल पनि भए । अहिले गाउँका घर घरमा पानी पुगेको छ । अहिले पानीको समस्या टरेको छ । यो सबै लकडाउनकै देन हो ।

बैरेनीबाट कालिदह हुँदै च्याडुखोलाको केही माथि रहेको ठुलो खोला भन्ने ठाउँबाट केही बर्ष अगाडि कादिलह बैरेनी खानेपानी आयोजना निर्माण भएको हो । आयोजना निर्माण भएर पनि विभिन्न कारणले गर्दा पानी सञ्चालनमा समस्या देखियो । यस विचमा पनि पानी सञ्चालन गर्न धेरै कोशिस गरिए तर समस्या समाधान भएन । बैरेनी क्षेत्रका स्थानीयले यसको विकल्प खोजी गर्न थाले । गाउँमा रहेका ४०÷४५ घर उपभोक्ताहरु मध्ये नजिकको पानीका श्रोत खोजी गरी सिमित घर मिलेर बैकल्पिक व्यवस्था पनि शुरु भयो । कतै अस्थायी रुपमा पाइप विच्छ्याएर आलोपालोसँग पानी भर्ने व्यवस्था गरियो भने गाउँ नजिकै रहेको निउरे धाराको पानी मोटरले तानेर केही घरले प्रयोग गर्ने विकल्प पनि अपनाइयो । यतिमात्र होइन सिद्धलेक गाउँपालिका वडा नम्वर ५ को इस्लाङ (बैरेनी पारीको बस्ती) नजिकैबाट पानी ल्याएर पनि केही घरले प्रयोग गर्न शुरु गरे । तर यतिले मात्र सबै उपभोक्तको आवश्यकता पुरा हुने अवस्था थिएन ।

अन्तत खानेपानी आयोजनाको लागि धेरै रकम खर्च भएको र सम्पुर्ण गाउँकै आवश्यता पुरा गर्न सक्ने सोही ठुलो खोला खानेपानी आयोजना मर्मत गरी गाउँमा खानेपानी ल्याउने विषयमा गाउँबासीको सरसल्लाह भयो । अघिपछि यत्रतत्र आ आफ्नो कामकाजमा लाग्ने मानिसहरु अहिले लकडाउनको समयमा घर घरमा आएको समयमा खानेपानी मर्मत गर्ने कुरा भयो । यो अवस्थालाई उपयोग गर्न गाउँबासी तयार पनि भए । यस अवस्थामा यस कामलाई अत्यावश्यक कामको रुपमा लिएर सामाजिक दुरी कायम राख्दै, व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउँदै खानेपानी मर्मतको काम शुरु भयो र धेरै दिन लगाएर काम पनि सम्पन्न भयो । उपभोक्ता समितिका अनुसार खानेपानी मर्मतको काममा उपभोक्ताहरुको सक्रियत साथ र सहयोग रह्यो । काम मात्र सम्पन्न भएन कि घर घरमा पानी समेत पुग्यो । लकडाउनको यो अवस्था आएको थिएन भने सायदै यो खानेपानी मर्मतले यति छिटो सार्थकता पाउँदैन थियो होला । यसलाई गाउँबासीले अवसरको रुपमा लिएका छन् ।

यो त एउटा उदाहरण मात्र हो । हाम्रा समुदायमा यस्ता धेरै गतिविधि भइरहेका छन् । र कहि कतै यस्ता ठाउँ पनि छन कि उचित समय र अवसरको अभावका कारण काम हुन पाएका छैनन । कतै त यस्तो पनि अवस्था छ कि थोरै परिश्रमबाट काम पुरा हुने खालको अवस्था पनि छ । तर त्यस्ता विषयमा मानिसको ध्यान गएको छैन । यस्ता विषयमा हामीले समुदायको सहयोग लिएर केही काम गर्न सक्यौ भने यसले दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्नसक्छ भन्ने विषयमा सोच्नु आवश्यक छ । यसकारण हामीले लकडाउनमा केही गर्नै हुँदैन, केही गर्नै सकिँदैन भन्ने खालको सोच पनि राख्न हुँदैन । तर यसो भन्दैमा लकडाउनो पालना नगर्ने भन्ने चाँही पक्कै होइन । अत्यावश्यक काम गर्न सकिन्छ तर सावधानी अपनाएर मात्र । यस्तै सावधानी अपनाएर विकासका काम पनि गर्न सकिन्छ भन्ने नै हो । यसबाट फाइदा पनि हुन्छ ।

अहिले हामी लकडाउनमा बसेको पनि ७१ दिनभन्दा धेरै भइसक्यो । अझै कहिलेसम्म लकडाउनमा रहनुपर्ने हो यकिन छैन । सरकारले कोरोना रोग अर्थात कोभिड १९ को संक्रमणबाट जोगिन भन्दै चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु ग¥यो र पटक पटक समय थप गर्दै जेष्ठ ३२ गतेसम्म लकडाउन जारी गर्ने जनाएको छ । नेपालमा मात्र होइन, धेरै देशहरुले कोरोना संक्रमण फैलन नदिन भन्दै लकडाउन गरेका छन् र औषधि समेत नभएको यस रोगको संक्रमण हुन नदिने अचुक उपाय नै लकडाउन भएको समेत भनिएको छ । तर लकडाउन कहिलेसम्म जारी रहने हो भन्ने सबैमा प्रश्न उब्जिएको पक्कै छ । अहले मानिसहरुले भन्ने गरेको सुनिन्छ कि, लकडाउन छ, खायो बस्यो, काम छैन’ तर विचार गर्ने हो भने लकडाउनको यो समय हाम्रो लागि अवसरको रुपमा आउन सक्छ । हामीले समयको सही ढंगबाट सदुपयोग गर्ने हो भने पक्कै यो हाम्रो लागि अवसर नै हो ।

फेरी अर्को कुरा के छ भने लकडाउन भन्ने वित्तिकै मानिसहरु घरमा सुरक्षित रुपमा रमाउँदै बस्ने भन्ने नै हो । शहरबजारमा टेलिभिजन हेर्ने, फोन, इन्टरनेट प्रयोग गरेर लकडाउनलाई सजिलैसँग उपयोग गर्न अलि सजिलो भएपनि गाउँघरतिर भने यस्तो हुँदैन । गाउँघरमा सबैघरमा टेलिभिजन छैन, फोन, इन्टरनेटको सुविधा पुगेको छैन । त्यसमाथि समय र सिजन अनुसारका कृषि पनि गर्नै पर्ने अवस्था छ । सरकारले पनि सामाजिक दुरी कायम राख्दै कृषि कर्म गर्न सकिने र गर्नुपर्ने भन्दै आएको छ । सरकारले नभने पनि गाउँघरमा आफुलाई सुरक्षित राख्दै खेतीपातिको कामलाई निरन्तरता दिँदै गरेको पनि देखिएको छ । फलस्वरुप अहिले गाउँघरतिर मानिसहरु खेतबारीमा व्यस्त रहेका देख्न सकिन्छ । अहिले धेरै ठाउँमा बर्षौदेखि बाँझो रहेको जमिन खनजोत गरी तरकारी फलफुल लगाएको भन्ने खवर पनि सुन्ने गरिएको छ । यस्ता सबै गतिविधिलाई अवसरको रुपमा लिन सक्नुपर्छ ।

अहिले लकडाउनको यो समयमा घरमा सबै जना जम्मा भएर बसेको अवस्था छ । विद्यार्थीहरु स्कुल जान पाएका छैनन, रोजगारी गर्नेहरु काममा जान पाएका छैनन् । यस्तो अवस्थामा केही न केही गर्ने सिक्ने काम गर्नुपर्छ जसले गर्दा विद्यार्थीका लागि व्यवहारिक ज्ञान समेत हासिल हुने अवस्था आउछ । फेरी घरका सबै सदस्य मिलेर काम गर्दा काम गर्नकै लागि ज्यालामा मानिसहरु खोज्नुपनि परेन, काम पनि राम्रोसँग पुरा हुन्छ । परिवारका सबै सदस्य जम्मा हुन चाडपर्व आउनुपर्ने अवस्था थियो भने अहिले त २ महिनादेखि परिवारका सबै जना एकै ठाउँमा बस्दै आएको अवस्था छ । त्यतिमात्र होइन, अघिपछि हामी सबै आ–आफ्नै काममा व्यस्त हुन्छौं, परिवारका सदस्य आपसमा मिलेर काम गर्न अवस्था नआउन सक्छ । गाउँमा सबैजना सँगै जम्मा भएर विकासका काम गर्ने अवस्था नआउन सक्छ । लकडाउन भन्ने वित्तिकै केही गर्नै नहुने, कही जानै नहुने भन्ने होइन । आवश्यक काममा जानसकिन्छ र जानुपर्छ पनि तर सावधानी भने अपनाउनुपर्छ । नियमित कामहरु, सामाजिक गतिविधिहरु, विकास निर्माणका कामहरु पनि गर्न सकिन्छ । कतिपय ठाउँमा यस्ता कामहरु नियमित रुपमा भइरहेका नै छन् । यसकारण अहिलेको यस्तो अवस्थाको सही सदुपयोग गर्दै लकडाउनको अवस्थालाई एउटा अवसरको रुपमा लिन सक्नुपर्छ ।

  • सिद्धलेक- १ नलाङ, धादिङ


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ जेष्ठ २०७७, बिहीबार २१:५२ मा प्रकाशित

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories