धुँवाकोटका नागरिकलाई नगरपालिकाले हेप्यो – वडाअध्यक्ष

2115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नीलकण्ठ-क्वारेन्टाइनमा राखिएका केही व्यक्तिलाई कोरोना भाईरस संक्रमणको पुष्टि भएपछि संगै बसेका अन्य व्यक्तिलाई बिना परिक्षण घर पठाएर नीलकण्ठ नगरपालिकाले समाजमा त्रास फैलाउने काम गरेको छ ।

नीलकण्ठ नगरपालिकाले राजनैतिक पुर्वाग्रह राखेर वडा नम्बर १४ लाई कोरोना महामारी संक्रमण रोकथाममा असहयोग गरेको वडाअध्यक्ष फन्द्रा तामाङले वताएका छन् ।

वडा नम्बर १४ का अध्यक्ष फन्द्रा तामाङले मङ्गलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसका कारण नेपाल भारत सीमानामा अलपत्र परेका नीलकण्ठ १४ धुवाकोटका नागरिकहरुलाई उद्दार गर्नेदेखि क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई खाद्यान्न, स्वास्थ्य सुरक्षाका सामग्री र परीक्षणमा समेत नगरप्रमुखको निर्देशनमा विभेद भएको बताएका हुन ।

नगरपालिकाले अन्य वडाका नागरिक ल्याउन नेपाल भारत सिमामा पटक पटक बस पठाएपनि १४ नम्बर वडाका नागरिक आफ्नै खर्चमा आउन बाध्य पारिएका छन् । आफ्नै खर्चमा आएर क्वारेन्टाइनमा बसेकाहरुलाइ सङ्क्रमणको जोखिम रहदा रहदै १÷२ दिनमात्र राखेर बिना परीक्षण घर पठाईएको छ भने सँगै बसेको व्यक्तिलाई कोरोना पोजेटिभ देखिदा समेत १४ नम्बर वडाका व्यक्तिलाई भने चेक जाँच नगरी घर पठाईएको वडा अध्यक्ष तामाङले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

सदरमुकाममा रहेको क्वारेन्टाईनमा राख्ने व्यवस्था नभएपछि वडा कार्यालयले व्यवस्थापन गरेको क्वारेन्टाइनमा रहेका नागरिकहरुको पिसिआर परीक्षणमा नगरपालिकाले कुनै पहल नगरेको, धुवाकोटको क्वारेन्टाइनमा बसेका १०८ जनालाई खाद्यान्न लगायत कुनै सहयोग नगरि सोझै राजनैतिक पूर्वाग्रह राखेको वडा अध्यक्ष तामाङको आरोप छ ।